काठमाडौं– ३८ सय किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतमा सोमबारसम्म अदालत उपस्थित भएका ३० जना अभियुक्तको बयान सकिएको छ।
बयान सकिएसँगै भोलिदेखि प्रतिवादीका कानुन व्यवसायी समेत संलग्न हुँदै थुनछेक बहस सुरु हुने मोरङ जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले बताए।
आज एसएसपी दिवेश लोहनीसहित ३ जनाको अन्तिम बयान गराइएको थियो। लोहनीले ९ पेज लामो बयान अदालत समक्ष दिएका छन्। उनले सनमको हत्या कसले र किन गरेको आफूलाई जानकारी नभएको र उक्त घटनामा आफू संलग्न नभएको दाबी गरेका छन्।
आइतबार प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेलसहित अन्य अभियुक्तको बयान भएको थियो। जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बयान भइरहेको थियो।
प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो। एक जना अभियुक्त भने अदालतमै उपस्थित भएका थिए। प्रहरी हवल्दार अमरबहादुर थापालाई राष्ट्रसंघीय शान्ति मिसनबाट फर्काइएपछि मोरङ जिल्ला प्रहरी कार्यालयमा सम्पर्कमा आएका थिए।
उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको छ। सबै मुद्दामा अदालतले एकै पटक बयान गराएको छ।
सरकारी वकिलको कार्यालय मोरङले गत बुधबार बहालवाला एसएसपी, अन्य प्रहरीका उच्च अधिकारी लगायत ६३ जना विरुद्ध मुद्दा दायर गरेको थियो।
मिलेमतोमा सुन तस्करी गर्ने ‘गोरे समूह’ले त्रिभुवन विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्या एको दाबी गरिएको थियो। सरकारी वकिलको कार्यालयले उक्त रकम बिगोको रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग–दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।