काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ जना मजदुर नेता पत्रकार सम्मेलन स्थलबाटै पक्राउ परेका छन्। अनामनगरस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनबाट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका पदाधिकारीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।
उनीहरुविरुद्ध चन्दा असुलीको उजुरी रहेकाले पक्राउ गरिएको परिसरका डिएसपी मोहनकुमार थापाले बताए।
उनीहरु नयाँ कार्यसमितिको बारेमा जानकारी दिन पत्रकार सम्मेलनको तयारीमा थिए। गृह मन्त्रालयले नेकपाका कार्यकर्ताहरुलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न निर्देशन दिएको छ।
महासंघका केन्द्रीय अध्यक्ष अमर झाँक्री, सचिव देव परियार, केन्द्रीय सदस्यहरु शिशिर थापा, एलबी बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खड्का, भीम अधिकारी, केशवबहादुर बुढा, विनोद सिपाइली, शिव परियार र नितु शाहसहित ११ जना पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।