पोखरा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको बताएका छन्।
बिपी कोइराला अध्ययन प्रतिष्ठान प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा बिपीको विचार’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले बिपीले तत्कालीन अवस्थामा चाहेको शासन व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र नै भएको उल्लेख गरे। नेपाली कांग्रेसले बिपीको बाटो नछाडेको बताउँदै वरिष्ठ नेता पौडेलले त्यही बाटोबाटै सिंहदरबारको अधिकार गाउँमा पुगेको जिकिर गरे।
'नेपालमा ७० वर्षसम्म लाग्न नसकेको राजनीतिक टुङ्गो संविधानसभाका माध्यमबाट लागेको छ,' उनले भने, 'जनताको पक्षमा संविधान निर्माण भएको छ, बिपीको 8वाद निमुखालाई न्याय, बिमुखालाई आय थियो, राजनीतिक पार्टीको र सरकारको एजेन्डा पनि अब त्यही नै हुनेछ।'
बिपीको नाम बेचेर मूल पार्टी कांग्रेसलाई नै हराउने र उम्मेदवार खडा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउँदै वरिष्ठ नेता पौडेलले जनताको भावनालाई आत्मसात् गर्दै पार्टीलाई आगामी दिनमा सशक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।