राजविराज– नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका भारतीय नागरिक सतिश अग्रवाल कारागार चलान भएका छन्। सप्तरी जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलासले सोमबार साँझ अग्रवाललाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।
अग्रवाललाई सोमबार साँझ नै कारागार पठाइएको एसपी मुकेश कुमार सिंहले बताए। जिल्ला अदालतमा भएको थुनछेक बहसपछि जारी आदेशमा तत्काल प्राप्त कागजात र प्रमाणबाट अग्रवाल निर्दोष रहेछन् भन्ने अवस्था नदेखिएकोले मुलुकी ऐनको अदालती बन्दोबस्तको ११८ को देहाय २ र ३ बमोजिम अग्रवाललाई थुनामा राखी पुर्पक्ष गराउनुपर्ने उल्लेख छ। बयानका क्रममा अग्रवालले आफु बिरामी रहेको बताएकाले स्वास्थ्य परिक्षणको व्यवस्था गरिदिन समेत अदालतले आदेश दिएको छ।
भारतको हरियाणा राज्यका निवासी अग्रवालले २०५२ असार २५ गते वंशजको आधारमा नेपाली नागरिकता लिएको जनाइएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले झुठो विवरण पेश गरेर नेपाली नागरिकता र किर्ते प्रतिलिपी लिएको आरोपसहित दायर गरेको मुद्दामा नागरिकता ऐन, २०६३ को दफा (२१) ३ र झूठा विवरण पेश गरेकोमा दफा (२१) १ को कसुर अपराधमा सोही ऐनको दफा (२१) १ र (२१) ३ बमोजिम सजायको मागदाबी गरिएको थियो।
यसैगरी, सोही मुद्दामा नागरिकता प्रतिलिपी सिफारिस गर्ने राजविराज नगरपालिकाका तत्कालीन वडा सचिव राजकुमार देवलाई ७७ हजार रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश भएको छ। उनीमाथि नागरिकता ऐन २०६३ को दफा (२१) २ को कसुरमा सोही ऐनको दफा (२१) २ बमोजिम सजाय मागदाबी गरिएको थियो।
अर्कोतर्फ प्रहरीले अग्रवालकी पत्नी मोनिका अग्रवाललाई समेत पक्राउ गर्न प्रहरी परिचालन गरेको छ। मोनिकाले २०६६ जेठ ५ गते लिएको १६१०३०–११३ नम्बरको अंगिकृत नागरिकता पनि नक्कली भएको एसपी सिंहले जानकारी दिएका छन्।
भारत माइती भएको उल्लेख गरी मोनिकाले बनाएको नागरिकताको नम्बर सप्तरीको छिन्नमस्ताकी खातुन मियाको नागरिकतासँग मेल खाएको छ। २०६५ चैत ११ गते नै जारी भएको खातुनको नागरिकतासँग मेल खाएकाले उक्त नागरिकता पनि किर्ते भएको पुष्टि हुने एसपी सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।