काठमाडौं- नेपाल भित्रने पाहुनाको स्वागतमा कुनै कसर बाँकी नराख्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीलले बताएका छन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई इंगित गर्दै पाहुनाको स्वगतमा कुनै कमी आउन नदिने बताए। उनले भने, ‘नेपालीको संस्कार भनेको पाहुनाको उचित किसिमले स्वागत गर्नु हो, हामीले हाम्रो संस्कार निभाउनमा कुनै कसर राख्दैनौं।’
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नेपाल–भारत व्यापार प्रवर्द्धन तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री ज्ञावालीले संस्कार निभाउदा आफ्नो स्वाभिमानमा आँच आउने कुनै पनि किसिमको कदम नचाल्ने प्रतिबद्धता जनाएका छन्।
मन्त्री ज्ञावालीले भारतसँग लगानीको विषयमा सहमति हुने तर कार्यान्वयन पक्ष फितलो हुने बताए। उनले भने, ‘भारतमा विभिन्न बखतमा लगानी लगायतका विषयमा सहमत हुने गरेको छ तर, कार्यान्वयन पक्ष सधैं फितलो हुन्छ। ठूलो मुलुकको हौसियतले यसको जिम्मेवार भारत सरकारले लिनुपर्छ।’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक समृद्धि मुखमा मात्रै सीमित नराखेर व्यवाहारमा उतार्न सरकारलाई आग्रह गरेका छन्। उनले नेपालमा प्रशासनिक झन्झटका कारण लगानी भित्र्याउन समस्या भएको बताए। उनले भने, ‘यसको जति सक्यो छिटो संशोधन गर्न आवश्यक छ।’
प्रशासनिक र कानुनी झन्झटको अन्त्य नभएसम्म नेपालमा लगानीको वातावरण नहुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।