काठमाडौं- वीर अस्पतालमा सफाइ अभियान सुरु गरिएको छ।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, नेपाल सरकारका सरसफाइ दूत तथा कलाकार सीताराम कट्टेल (धुर्मुस) र सरसफाइकर्मी खेम शर्माले अस्पतालको शौचालय सफा गर्दै अभियान थालेका हुन्।
सरकारी स्वास्थ्य संस्था सफाइ अभियानको सुरुवातका लागि वीर छानिएको हो। सरकारी स्वास्थ्य संस्थाहरुमा सबैभन्दा बढी सरसफाइको कमीबारे गुनासो आउने गरेकाले अभियान थालिएको राज्यमन्त्री अर्यालले बताइन्।
उनले भनिन्, ‘सरकारी अस्पताल भन्नेबित्तिकै वीरको नाम सबैभन्दा अगाडि आउने भएकाले यहीँबाट सफाइ अभियान थाल्नु उचित ठान्यौं।’
बिरामीको चाप बढी तर सरसफाइका कर्मचारीमा दक्षताको कमीका कारण अस्पताल सोचे जस्तो सफा हुन नसकेको राज्यमन्त्री अर्यालको ठम्याइ छ। वीरमा रहेको ‘क्रोनिक’ फोहोर सफा गर्नुका साथै त्यहाँका कर्मचारीलाई तालिम दिन यसअघि त्रिभुवन विमानस्थल र पशुपतिनाथ मन्दिर क्षेत्र सफा गरेका खेम शर्माको समूहलाई साथ लिएको उनले जानकारी गराइन्।
२५ जनाको समूहले १५ दिन वीरमा र १५ दिन ट्रमा सेन्टरमा सफाइ गर्नेछ। वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतका अनुसार सफाइका लागि शर्माले १५ जनाको समूह ल्याएका छन् भने अस्पतालको तर्फबाट १० जना खटिएका छन्।
सफाइ थाल्दै शर्माले १५ दिनमै वीरमा परिवर्तन देखिने बताए। उनले भने, ‘अहिले यहाँका शौचालय, कोठा र करिडोरको तस्बिर लिएर जानुहोस्, १५ दिनपछि आएर हेर्दा पक्कै परिवर्तन पाउनुहुनेछ।’
सीताराम कट्टेल 'धुर्मुस'ले हाम्रो दिमाग पनि सफा गर्दै सच्चिन आवश्यक रहेको बताए। उनले अस्पताल सफा राख्न राज्यमन्त्री अर्यालमा रहेको ऊर्जालाई थप बल दिन आफू सहभागी भएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।