काठमाडौं– सिन्डिकेट विरुद्धको सरकारको अभियानमा साथ दिने लिखित प्रतिबद्धता व्यक्त गरेर छुटेका यातायात व्यवसायी र सरकारी पक्षबीच सिंहदरबारमा वार्ता भइरहेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता चलिरहेको छ।
यातायात मन्त्री रघुवीर महासेठले व्यवसायीहरुलाई वार्तामा बोलाएका हुन्।
वार्ता सफल नभए आफूहरुको आन्दोलन जारी रहने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए। सरकारको सबै नियम, कानुन मान्ने र सिन्डिकेट विरुद्धको सरकारको अभियानमा साथ दिने लिखित प्रतिबद्धता गरेर अध्यक्ष कर्माचार्यसहित महासंघका अधिकारीहरु आइतबार छुटेका थिए।
तर, कर्माचार्य भने आफूहरु बिनासर्त छुटेको दाबी गर्छन्।
‘नागरिकको हिसाबले हामीले देशको कानुन मान्छौं भनेका हौं’, उनले भने, ‘हामीले कहिल्यै सिन्डिकेट नै गरेका छैनौं, त्यसकारण सिन्डिकेट गर्दैनौं भनेर हस्ताक्षर गरेका हौं।’
यो पनि पढ्नुहोस्- यातायात व्यवसायी महासंघका अध्यक्षसहितका पदाधिकारी छुटे, सिन्डिकेट हटाउने कदमको स्वागत गर्दै कागजमा हस्ताक्षर
गत शुक्रबार यातायात व्यवसायीहरुले देशभर गाडी ग्यारेजमा थन्क्याएर हडताल गरेका थिए। त्यसपछि गृह मन्त्रालयले व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो। महासंघका अध्यक्ष कर्माचार्य, महासचिव सरोज सिटौला लगायत पदाधिकारीहरु काठमाडौंमा पक्राउ परेका थिए।
पक्राउ परेका अध्यक्षसहित केन्द्रीय पदाधिकारीहरु नै कागज गरेर रिहा भएसँगै देशभरबाट पक्राउ परेका अन्य व्यवसायी पनि कागज गरेर छुट्दै छन्। केही व्यवसायी शनिबार नै छुटेका थिए।
समितिहरु खारेज गर्ने तथा देशभर रुट परमिट खुला गरेको विरोधमा व्यवसायीहरु आन्दोलनमा उत्रेका थिए। २७ गतेदेखि गाडी अनिश्चितकालीन रुपमा थन्क्याउने योजनामा रहेका व्यवसायी विरुद्ध सरकार आक्रामक बनेपछि उनीहरु निरीह बनेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।