काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सबै खालका सिन्डिकेट अन्त्य हुने बताएका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको नेकपा एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको प्रयास सुरुवात मात्रै भएको बताए।
प्रधानमन्त्री ओलीले देश र पार्टीको हित विपरीत नजान सांसदहरुलाई निर्देशन दिएका छन्। उनले जनताको सर्वोच्च निकाय स्थानमा रहेका जनप्रतिनिधिले उत्तेजनामा नआई संयमित भएर पार्टीको हितमा काम गर्न निर्देशन दिए।
'जनताको सर्वोच्चता जनाउने स्थानमा रहेका जनप्रतिनिधिले आवेश, उत्तेजनामा नचाहिँदो काम गर्न र बोल्न हुँदैन, पार्टी र राष्ट्रको हितमा काम गर्नुपर्छ', उनले भने।
प्रधानमन्त्री ओलीले सरकार मुलुकमा परिवर्तन ल्याउन आएको स्पष्ट पार्दै सो अभियानमा सबै एक ढिक्का भएर सामेल हुन निर्देशन समेत दिए। एमाले संसदीय दलका नेता ओलीले सरकारले छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउँदै लैजाने र सबै राष्ट्रसँग समुचित ढंगले सम्बन्ध अगाडि बढाइने पनि उल्लेख गरे। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।