काठमाडौं–कोरोना परीक्षणमा निजी ल्याबहरुको लापरबाहीका कारण नेपाल एयरलाइन्सलाई हङकङ उडानमा तेस्रोपटक प्रतिबन्ध लागेको छ।
नेपाल एयरलाइन्सको जहाजमार्फत् हङकङ पुगेका १४ यात्रुमा कोरोना पोजेटिभ देखिएपछि १२ नोभेम्बरदेखि २५ नोभेम्बरसम्ममा उडान प्रतिबन्ध लागेको हो।
यसअघि नेपाल एयरलाइन्सको जहाजमार्फत् हङकङ पुगेको यात्रुमा पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको भन्दै अक्टोबर ४ देखि १७ सम्म पहिलो र अक्टोबर २० देखि नोभेम्बर २०सम्म दोस्रो प्रतिबन्ध लगाइएको थियो।
यसअघिका दुई प्रतिबन्धमा मात्रै नेपाल एयरलाइन्सले ६ कारोड गुमाएको थियो। तेस्रोपटक प्रतिबन्ध लागेसँगै एयरयाइन्सले करोडौं गुमाउने निश्चित छ।
नेपाल एयरलाइन्सले ए-३२० जहाजमार्फत् हङकङ उडान गरिरहेको थियो। एयरलाइन्सले १ सय ५८ सिट क्षमताको न्यारोबडी जहाजमार्फत् काठमाडौं–हङकङ एकतर्फी उडानमा मात्र करिब ५३ लाख रुपैयाँ आम्दानी गर्दथ्यो भने फर्कदा (हङकङ-काठमाडौं उडानमा) पनि सोही रकम बराबार आम्दानी गर्दै आएको थियो। निगमले हङकङमा सातामा तीन उडान गर्दै आएको थियो।
ल्याबहरुले नेगेटिभ रिपोर्ट दिए पनि विदेशमा गएर परीक्षण गर्दा पोजेटिभ आइरहेको छ। निजी ल्याबहरुको लापरवाहीकै कारण नेपाल एयरलाइन्सले आफ्नो व्यापार गुमाउनु परेको छ। नेपाल एयरलाइन्सले सरकारबाट मान्यता प्राप्त सबै ल्याबहरुको रिपोर्टलाई मान्यता दिने गरेको छ।
यसअघि युएईको दुबई अन्तर्राष्ट्रिय विमानस्थलले पनि नेपालबाट आएका यात्रुमा कोरोना देखिएको भन्दै नेपाल एयरलाइन्सलाई उडान प्रतिबन्ध लगाउने चेतावनी दिएको थिाये। निगमलाई दुबई विमानस्थलले २ वटा चेतावनी पत्र पठाएको थियो।
निजी ल्यावहरुले विदेश जाने कामदारको कोरोना परीक्षणमा नक्कली रिपोर्ट दिने गरेको विषय पहिलेदेखि नै विवादमा पर्दै आएको छ। कतिपय ल्याबले त कोटा स्याम्पलिङका आधारमा परीक्षण गरेर रिपोर्ट दिइरहेको स्रोतको भनाइ छ। अर्कोतर्फ विदेश जानका लागि कोरोना परीक्षण गर्न स्वाब दिएपछि सेल्फ आइसोलेसनमा बस्नु पर्नेमा पनि नबस्दा समस्या आएको ल्यावहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।