काठमाडौं– प्रतिकूल मौसमका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवरोध कम गर्न भूउपग्रहमा आधारित नयाँ नेभिगेसन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक अध्ययन पूरा भए पनि विस्तृत डिजाइन, सुरक्षा मूल्याङ्कन, प्रमाणीकरण र नियामकीय स्वीकृति भने बाँकी छन्।
पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) ले नयाँ प्रणालीबाट खराब मौसम र कम दृश्यताका कारण हुने उडान रद्द, अवतरण असफल तथा अन्य विमानस्थलमा उडान मोड्नुपर्ने समस्या घट्ने अपेक्षा व्यक्त गरेका छन्।
पोखरा विमानस्थलको भौगोलिक बनावट र आसपासका पहाडी क्षेत्रका कारण प्रतिकूल मौसममा उडान सञ्चालन चुनौतीपूर्ण हुने गरेको छ। आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा भएपछि नयाँ प्रणालीले कम दृश्यतामा समेत उडान सञ्चालन सहज बनाउन सक्ने प्राधिकरणको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।