काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोरोना परीक्षण गर्दै आएका ल्यावहरुलाई देशकै प्रतिष्ठामा नकारात्मक असर नपुग्ने गरी सचेत भएर काम गर्न आग्रह गरेको छ।
नेपालमा कोरोना परीक्षण गरि विदेश गएका यात्रुमा कोरोना पोजेटिभ देखिएसँगै उडानमा समस्या आएको र कतिपय मुलुकले उडानमै प्रतिबन्ध लगाएको भन्दै नेपाल एयरलाइन्सले ल्यावहरुलाई सावधानी अपनाई पूर्ण रुपमा सजग भएर काम गर्न आग्रह गरेको हो।
यात्रुहरुको सुरक्षा तथा सरोकारवाला निकायहरुको मापदण्डका सन्दर्भमा सचेत र सजग रहेको पनि निगमले जनाएकाे छ।
‘विश्वव्यापी कोरोना महामारीका कारण हवाई उड्डयनको क्षेत्रमा परेको समस्या तथा स्वास्थ्य सुरक्षाका अतिरिक्त मापदण्डहरु लागू गर्ने गराउने कुरामा कुनै सम्झौता गरिएको छैन,'निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यसैबीच निगमले उडान गर्ने गन्तव्यहरुमा यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मान्यताप्राप्त प्रयोगशालाबाट पिसीआर गरी ७२ घण्टाभित्रको रिपोर्टलाई मान्यता दिई आएको भए पनि केही दिनदेखि हङकङ, दुबई, नारिताजस्ता गन्तव्यहरूमा पुनः परीक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएकोले सम्बन्धित देशका निकायहरुले सचेत गराउनुका साथै कतिपयले उडान गर्नसमेत रोक लगाएकाले निगमलाई आर्थिक तथा प्रतिष्ठाको दृष्टिले ठूलो नोक्सानी पर्न गएको छ।’
यी घटनाहरुले निगमको मात्र नभई समग्र देशकै प्रतिष्ठामा नकारात्मक असर पर्नुका साथै नेपालका स्वास्थ्य प्रयोगशालाहरुको विश्वसनीयतामै प्रश्न खडा गरेको निगमको ठहर छ। निगमले सजकता अपनाउन नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य प्रयोगशालाहरुलाई अनुरोध गरेको छ। साथै निगमले सम्पूर्ण यात्रुलाई परीक्षणका लागि नमुना दिएपछि विशेष सावधानी अपनाई पूर्ण रुपमा सजग रहन अनुरोध गरेको छ।
रिपोर्ट नेगेटिभ देखाएर उडान गर्ने यात्रुहरुको गन्तव्य शहरुमा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयंले लिनुपर्ने समेत निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।