काठमाडौँ- रानीपोखरी पुनःनिर्माणका क्रममा हालसम्म प्रयोग भएका सबै आधुनिक निर्माण सामग्री (कङ्क्रिट) हटाउनका लागि रु १६ लाख खर्च लाग्ने भएको छ।
परम्परागत शैली मासिएको भनी गुनासो आएपछि २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माणको क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाएर परम्परागत शैलीमै पुनर्निर्माण गरिने काठमाडौँ महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले बताए। 'अबको एक हप्तामा हटाइने आधुनिक निर्माण सामग्रीका लागि बोलपत्र आह्वान गरिनेछ, ढिलोमा आगामी जेठ १५ गतेबाटै पुनःनिर्माणको काम सुरु हुन्छ,' उनले भने।
परम्परागत शैलीमा निर्माण हुनुपर्ने स्थानीयवासीको दबाबपछि करिब चार महिनादेखि पोखरी पुनःनिर्माणको काम रोकिएको छ। गत चैत २२ गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी, कामपाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीचको छलफलले उक्त निर्णय गरेको थियो।
अहिले पोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण विभागले गरिरहेको छ भने पोखरीको छेउछाउमा निर्माण गरिएको पर्खाल कामपाले गरेको थियो। हालसम्मको पुनःनिर्माणका क्रममा रु दुई करोड ३० लाख खर्च भएको छ।
भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि रु ११ करोड ६० लाख ७३ हजार ९०० लाग्ने अनुमान भए पनि करिब रु ७ करोडमा निर्माण कम्पनीलाई जिम्मा दिइएको कामपाका लेखा अधिकृत श्याम पाण्डेले जानकारी दिए। २०७३ बैसाख १० गतेदेखि वर्ल्डवाइड कँडेल केएन केजी जेभीले पुनःनिर्माण सुरु गरेको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।