काठमाडौं– सुनसरी प्रहरीले १५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध रूपमा ल्याइएको खरबुजाको बीउ (वाटर मेलन सिड्स) नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय दुहबी, इलाका प्रहरी कार्यालय सितागञ्ज र ट्राफिक प्रहरी पोस्ट दुहबीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त बीउ नियन्त्रणमा लिएको हो।
प्रहरीले बर्जु गाउँपालिका-२ स्थित केसलिया खोला क्षेत्रमा विराटनगर-देवानगञ्ज सडक खण्डमा सार्वजनिक सवारीसाधन जाँच गर्ने क्रममा ३८ बोरा खरबुजाको बीउ फेला पारेको जनाएको छ।
१ हजार ५२० किलो बीउ बरामद
प्रहरीका अनुसार नियन्त्रणमा लिइएको ३८ बोरामा १ हजार ५२० किलोग्राम खरबुजाको बीउ रहेको छ। यसको अनुमानित बजार मूल्य १५ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
उक्त बीउ अवैध रूपमा ल्याइएको प्रहरीको दाबी छ। नियन्त्रणमा लिइएको बीउ आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले असोज १९ गते साँझ करिब ५:३० बजे नियमित चेकजाँचका क्रममा उक्त परिमाणको बीउ नियन्त्रणमा लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।