काठमाडौं- नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्यको बैठक आज बिहान ८ बजेपछि बस्दैछ। कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा रिक्त पदाधिकारी चयनका लागि निर्वाचित सदस्यहरुको बैठक डाकेका हुन्।
कांग्रेसमा महाधिवेशन भएको २ महिनाभित्र चयन गरिसक्नुपर्ने पदाधिकारी २६ महिनासम्म पनि चयन हुन सकेको छैन।
सभापति देउवाले बोलाएको आजको बैठकप्रति नेता रामचन्द्र पौडेल पक्षले भने असन्तुष्टि जनाएको छ। 'अहिले नेपाली कांग्रेसले यत्रो ठूलो हार व्यहोरेको छ र देशमा नेपाली कांग्रेसको अवस्था ज्यादै चुनौतिपूर्ण हुन पुगेको छ', आइतबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरी पौडेले असन्तुष्टि पोखेका थिए, 'यो घडीमा पार्टीका सबैले आफ्नोआफ्नो जिम्मेवारी लिएर पार्टीलाई अब सच्याएर जाने भन्ने धारणा अनुसार आज (आइतबार) को बैठकमा हामीले खासै विरोध र बहिस्कारको कुरालाई अवलम्बन गरेनौं। तर, बैठक सकिँदा नसकिँदै तत्कालै सभापतिले निर्वाचित सदस्यहरुको बैठक छ, पदाधिकारीको चयन हुन्छ भनेर घोषणा गर्नुभयो। हामीले तत्काल त्यसको विरोध गर्यौं।'
पौडेलले दुई महिनाभित्रै गरिसक्नुपर्ने पदाधिकारी चयन दुई वर्षसम्म नगरेकाले ती पदहरु स्वतः रिक्त भइसकेको पनि बताएका थिए। उनले देउवाले बोलाएको बैठक विधान विपरीत भएको आरोप समेत लगाएका छन्।
कांग्रेस विधानमा केन्द्रीय कार्यसमितिमा केन्द्रीय सभापतिले निर्वाचित सदस्यहरुमध्येबाट कार्यसमितका लागि नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिले चयन गरेका एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीको व्यवस्था गरेको छ।
उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महतको सम्भावना रहेको देउवा निकट नेताहरूले बताएका छन्। विजयकुमार गच्छदार उपसभापतिमा आकांक्षी भए पनि विधानले नदिने जनाइएको छ।
कांग्रेसमा निर्वाचित सदस्य ६४ जना छन्। त्यसमा झन्डै ४० जना आफू पक्षका नेता भएको देउवा पक्षको दाबी छ। त्यसैले सभापतिले चाहेको नेता पदाधिकारीमा चयन हुन अप्ठ्यारो नभएको देउवानिकट एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।