काठमाडौं- नेपाली काँग्रेसको सभापति पदमा किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलवार राष्ट्रिय सभा गृहमा पार्टी सभापति पदका लागि मनोनयन दर्ता गराउँदै राठौरले पार्टीलाई एकताबद्ध बनाउने आफ्नो प्रमुख एजेण्डा रहेको बताएका हुन् ।
उनले आफू पार्टी सभापति निर्वाचित भए पार्टीलाई मर्यादित र अनुशासित ढंगले अघि बढाउने दाबी गरे । राजनीतिमा कुनै पनि नेतृत्व निर्विकल्प नहुने उनको भनाइ छ । उनले नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहले समेत चुनाव हारेको र पूर्वसभापति कृष्णप्रसाद भट्टराई लामो समय सभापति भए पनि निर्विकल्प नभएको उल्लेख गर्दै राजनीतिमा कोही पनि निर्विकल्प हुन नसक्ने बताए ।
उनले पार्टी अहिले पनि ठिक ढंगले अगाडि बढ्न नसकेको टिप्पणी पनि गरे । नेतृत्व नयाँ भएर मात्र पार्टी ठिक ढंगले अघि बढ्न नसक्ने भन्दै उहाँले पार्टी नेतृत्वको कार्यशैली सुधार्नुपर्ने आवश्यकता रहेको समेत बताए ।
उनले भने, ‘सभापति भएपछि पार्टी एक गर्छु । पार्टीलाई मर्यादित र अनुशासित बनाएर लिएर जान्छु । राजनीतिमा नेतृत्व भन्ने कुरा निर्विकल्प हुँदैन । चुनाव जित्दैमा कोही मान्छे निर्विकल्प हुँदैन । गणेशमानजी पनि चुनाव हार्नुभएको हो । किसुनजी त्यत्रो समय सभापति हुनुभयो निर्विकल्प त हुनुहुन्थेन नि । त्यसकारण राजनीतिमा जित र हार हुन्छ । म विशेष महाधिवेशन पक्षधर होइन । त्यसकारण मैले भनिसके सभापति भएपछि पार्टीलाई मर्यादित बनाउँछु, पार्टीमा सहयोग गर्ने मान्छेलाई रहन दिन्नँ । अब मैले चाहेको जस्तो पार्टी चाहिएको भए मलाई जिताउनुपर्यो । जे मन लाग्यो त्यही गर्ने भए मेरो भन्नु केही छैन ।’
उनले पार्टीको वर्तमान नेतृत्वले आफ्नो गृह जिल्लामा महाधिवेशन हुन नदिएको आरोप पनि लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।