काठमाडौं– आफुले भनेको ठाउँमा जान नमानेको भन्दै काठमाडौंमा ट्याक्सी चालकको हत्या प्रयास भएको छ। शुक्रबार राती मनमैजु पुल नजिकै दुई युवकले ट्याक्सी चालक अच्युत कार्कीको हत्या प्रयास गरेका हुन्।
घटनामा संलग्न दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। बानियाटार बस्ने सुमन खाती र सिन्धुपाल्चोक कटुञ्जे घर भएका पेम्बा तामाङलाई महानगरीय प्रहरी वृत्त बालाजुले शनिबार पक्राउ गरेको हो।
बालाजु वृत्तका प्रहरी निरीक्षक जनार्दन घिमिरेका अनुसार राती करिब साढे नौ बजे उनीहरुले बा २ ज ४८१७ नम्बरको ट्याक्सी रोकेका थिए। ट्याक्सी चालकलाई आफुले भनेको ठाउँमा जानुपर्ने बताए। तर, ट्याक्सी चालकले आफुले त्यहाँ जान नसक्ने बताएपछि विवाद भएको थियो। विवादपछि उनीहरुले नजिककै मासु पसलबाट खुँडा ल्याएर चालक कार्कीमाथि आक्रमण गरेको प्रहरी निरीक्षक घिमिरेले बताए।
उनको बायाँ खुट्टा, बायाँ हात लगायत शरिरका विभिन्न ठाउँमा चोट लागेको छ। घटनापछि फरार भएका उनीहरुलाई खोजी गरि पक्राउ गरिएको बालाजु वृत्तले जनाएको छ। उनीहरु विगतमा पनि चोरी लगायत विभिन्न मुद्दामा पक्राउ परि छुटेको व्यक्ति भएको खुलेको छ।
ट्याक्सी चालकको उपचार भइरहेको र उनको अवस्था खतरामुक्त छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।