काठमाडौं- नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ। नर्सिङ केयरमा नेपाली कामदार लैजाने गरी जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ।
इजरायलको (नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र) मा नेपाली केयर गिभर लैजाने सम्बन्धमा सम्झौता हुन लागेको हो।
सम्झौतापत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलका विदेशमन्त्री गाबी अस्खेनाजीले हस्ताक्षर गर्ने तेलअभिभस्थित नेपाली दूतावासले जनाएको छ।
मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले समेत इराजयलसँग श्रम सम्झौता गर्ने निर्णय गरेको थियो।
सोही बैठकले श्रम सम्झौतामा हस्ताक्षर गर्न इजरायलका लागि नेपाली राजदूत डा शाक्यलाई अख्तियारी दिने निर्णयसमेत गरेको थियो। दुई देशबीच श्रम सम्झौता भएपछि सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जाने छन्। सम्झौतापछि नेपाली श्रमिकले इजरायली नागरिकसरहको सेवासुविधा र संरक्षण पाउने उल्लेख गरिएको छ।
विभिन्न चरणमा भएको द्विपक्षीय छलफलका क्रममा इजरायल विशेष गरी केयर गिभरमा नेपाली श्रमिक लैजान सकारात्मक देखिएको थियो।
इजरायल रोजगारीका लागि केयर गिभरमा छनोट हुन अनमी वा अन्य शैक्षिक उपाधि हासिल गरेको वा १२ कक्षा पास गरी तीन महिने केयर गिभर तालिम लिएको हुनुपर्ने बताइएको छ। यस्तै लिखित तथा अन्तर्वार्ता दुवैमा अङ्ग्रेजी भाषा उत्तीर्ण हुनुपर्नेछ।
यसअघि इजरायल गएका व्यक्ति इजरायल रोजगारीका लागि प्रतिस्पर्धामा सहभागी हुन नपाउने दूतावासले जनाएको छ।
कामदार छनौट सरकारी संयन्त्रमार्फत हुने हुँदा हल्लाको पछाडी लागेर इजरायल रोजगारीका नाममा नठगिन समेत दूतावासले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।