लुम्बिनी– लुम्बिनीमा जारी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन दसबुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै समापन भएको छ।
लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गर्दै बौद्ध सम्मेलन सकिएको हो।
२३ देशका अन्तर्राष्ट्रिय बौद्ध विद्वान् तथा धर्मगुरु, वरिष्ठ भिक्षु लगायतको सहभागिता रहेको सम्मेलनले लुम्बिनी भगवान् बुद्धको जन्मस्थल, बुद्ध धर्म र विश्व शान्तिको मुहानलाई स्विकार्दै प्रवर्द्धन गर्ने प्रतिबद्धता समेत जनाएको छ।
मानवताको सबैभन्दा ठूलो गुरुको जन्मस्थलको महानतालाई बोध गर्दै र यसले अन्तर्राष्ट्रिय भ्रातृत्व, दया, करुणा तथा अन्तरआस्था र शान्ति संवादका लागि अन्तर्राष्ट्रिय केन्द्रको रुपमा विकासित गर्दै लैजाने सहभागी मुलुकका कार्यपत्र प्रस्तोताले जनाएका छन्। उनीहरु लुम्बिनीलाई विश्व शान्तिको केन्द्रको रुपमा विकास गर्ने विषयमा सहमत भएका छन।
सम्मेलनलाई समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बुद्ध धर्मको उद्गम थलो भएको सम्मेलनले पुष्टि गरेको बताए। विश्वलाई अँध्यारोबाट हटाउन बुद्ध र बुद्धको दर्शनले महत्वपूर्ण टेवा पुर्याएको उनले चर्चा गरे।
प्रधानमन्त्री ओलीले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै पुरातत्व क्षेत्रको उत्खनन र संरक्षणमा लाग्दै बृहत्तर लुम्बिनीलाई पूर्णता दिने बताए। उनले लुम्बिनीलाई विश्व शान्तिको केन्द्रको रुपमा विकास गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह समेत गरे।
यस्तै, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले विश्व समुदायलाई बढ्दो हिंसा, असहिष्णुता र द्वन्द्व समाधानका लागि सम्बोधन गर्न आह्वान गर्ने र दिगो विश्व शान्तिको निम्ति बुद्धको शिक्षालाई अवलम्बन गर्दै सहयोग र सदाचारहरुलाई प्रवर्द्धन गरी रणनीति तर्जुमा गर्ने बताए।
केन्जो टाङ्गेले डिजाइन गरिएको लम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रको रुपमा सम्पन्न गर्ने कुरामा सबै सहभागीहरु सहमत भएको बताउँदै उपाध्यक्ष त्रिपाठीले थपे, ‘धर्म र धर्मनिरपेक्ष नेताहरु एकै थलोमा आएर गरिबीबाट उन्मुक्ति दिलाउने तथा संयुक्त राष्ट्र संघ र नेपाल सरकारले देखेको दृष्टिकोणलाई अगाडि बढाउन लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने भनिएको छ।’
यस्तो छ लुम्बिनी घोषणापत्र २०१८ :
१. सन् २०१६ मा घोषणा गरिएको लुम्बिनी घोषणापत्रमा उल्लिखित लुम्बिनी नेपाललाई भगवान बुद्धको जन्मस्थल र बौद्धधर्म र विश्वशान्तिको मुहानलाई विश्वरुपमा प्रवर्द्धन गर्ने।
२. केन्जो टाङ्गेद्वारा डिजाइन गरिएको लम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रको रुपमा सम्पन्न गर्ने।
३. अन्तरआस्था, संवादको प्रवद्र्धन गर्न र विश्व बौद्ध समुदायलाई एकीकृत गर्न, एसियामा बढ्दो जातीय हिंसा र यसलाई बौद्ध मार्गबाट समाधान गर्नको निम्ती एक भइ काम गर्ने।
४. लुम्बिनीमा शान्ति र द्वन्द्वको निरुपणको लागि अन्तराष्टिय केन्द्र स्थापना गर्ने।
५. लुम्बिनीलाई एशियाको बृहत्तर तीर्थस्थलको सर्किटको रुपमा स्थापना गरी भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलंका म्यानमार, बंगलादेश, चीन र पाकिस्ताको बौद्ध सम्पदाहरुलाई प्रवर्द्धन गर्ने।
६. बृहत्तर लुम्बिनीको पुरातात्विक, संस्कृतिक र प्राकृतिक सम्पदाहरुलाई एकीकृतरुपमा व्यवस्थापन गरी संरक्षण गर्ने।
७. बृहत्तर लम्बिनीको वातावरणको संरक्षण गर्न र सबै किसिमका प्रदुषणको स्रोतको अनुगमन र नियन्त्रण गर्ने।
८. कपिलवस्तु (बुद्ध र शाक्यको मातृभूमि), देवदह (महारानी मायादेवीको माइतीघर), रामग्राम (बुद्धको अस्तुधातु भएको स्थल) हरुको बृहत् महत्वलाई हृदयंगम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिस्ट सर्किट अन्तर्गतको रुपमा एकीकृत बृहत् लुम्बिनी गुरु योजनाको रुपमा निर्माण गर्ने।
९. बौद्ध शिक्षाको लागि लुम्बिनीलाई विश्व केन्द्रको रुपमा विकास गर्ने।
१०. लुम्बिनी घोषणापत्र २०१६ लाई कार्यान्वयन गर्दै विश्व बौद्धिष्ट मञ्चको स्थापना गरी बुद्ध परम्पराहरुको सञ्जालको लागि शुभारम्भ गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।