फाइल तस्बिर काठमाडौं- सरकारले गन्तव्य मुलुकबाट कामदारको माग आएमा त्यस्ता मुलुकमा वैदेशिक रोजगारी खुल्ला गर्ने निर्णय गरेको छ।
तर यो निर्यणपछि पनि अभिमुखीकरण तालिम सञ्चालन भने खुल्ला गर्न दिइएको छैन। उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्ला प्रशासनले अभिमुखीकरण तालिम सञ्चालन गर्न अनुमति नदिएकाले वैदेशिक रोजगारी प्रभावित बनेको अभिमुखीकरण व्यवसायी महासंघले जनाएको छ।
सरकारले श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेपछि अभिमुखीकरण तालिमको अनुमतिका लागि प्रशासनमा जाँदा प्रशासनले अभिमुखीकरण तालिम सञ्चालनको अनुमति नदिएको अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष रामराजा गौतमले बताए।
वैदेशिक रोजगारी खुल्ला गरेर अभिमुखीकरण तालिम सञ्चालनमा रोक लगाउनु औचित्यहीन भएको अध्यक्ष गौतमको भनाइ छ।
गत भदौ १५ गते बसेको मन्त्रीपरिषद् बैठकले वैदेशिक रोजगारीमा कामदारका लागि स्थगन भएका सबै प्रकारका श्रम स्वीकृति जारी गर्ने निर्णय गरेको थियो।
तर यो निर्णय भएको १५ दिन बितिसक्दा पनि अभिमुखीकरण तालिम प्रदायक संस्थाले तालिको अनुमति नपाएको गुनासो गरेका छन्।
वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई श्रम स्वीकृतिका लागि अभिमुखीकरण तालिम अनिवार्य गरेको छ। अभिमुखीकरण तालिम नलिई वैदेशिक रोजगारीमा जान पाइँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।