काठमाडौं- सरकारले चुरोट तथा सूर्तीजन्य पदार्थको कर भारी मात्रामा वृद्धि गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चुरोट तथा सूर्तीजन्य पदार्थमा ७० प्रतिशत कर लगाउने प्रस्ताव तयार पारेको छ।
मन्त्रालयले उक्त प्रस्ताव अर्थ मन्त्रालयमा लैजाने तयारी गरेको स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले राजधानीमा आयोजित एक कार्यक्रममा जानकारी दिइन्। हाल चुरोट तथा सूर्तीजन्य पदार्थमा २८ प्रतिशत कर छ। धूमपान तथा सूर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउन यसमा लगाइने कर भारी मात्रामा वृद्धि गर्न खोजिएको राज्यमन्त्री अर्यालले बताइन्।
‘दक्षिण एसियाभरिमै नेपालमा सूर्तीजन्य पदार्थको कर निकै कम छ’, उनले भनिन्, ‘जनस्वास्थ्यमा गम्भीर असर गर्ने सूर्तीजन्य पदार्थमा कर बढाउने विषयमा अर्थमन्त्रीसँग पनि छलफल गरेर अगाडि बढ्नेछौं।’
पूर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमालेका प्रमुख सचेतक खगराज अधिकारीले सूर्तीजन्य पदार्थमा कर बढाउने विषयमा पार्टीभित्र र सरकारमा पनि आफूले पहल गर्ने बताए।
‘विश्व स्वास्थ्य संगठनले तोके अनुसार अब सूर्तीजन्य पदार्थमा ७० प्रतिशतभन्दा बढी कर लगाउनुपर्छ’, उनले भने, ‘कर बढाउने विषयमा सरकार र पार्टीमा म पनि आवाज उठाउँछु।’
कर बढाउने, सूर्तीजन्य पदार्थको नियन्त्रण र यस सम्बन्धी कानुनको नियमनका लागि आफ्नो सहयोग रहने कुरामा सांसदहरु लेखराज भट्ट, लालबहादुर थापा, रामकुमारी झाँक्री, वृजेशकुमार लाल, प्रकाश स्नेही, अञ्जना विशंखे लगायतले प्रतिबद्धता जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।