काठमाडौं– पूर्व राज्यमन्त्री एवं पूर्वसांसद सञ्जयकुमार साह ‘टक्ला’लाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा पेश गरिएको छ।
शुक्रबार न्यायाधीशहरु द्वारिकामान जोशी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासमा साहको बयान समेत सुरु भएको छ। आइतबार बयान सक्दै धरौटीमा छाड्ने कि थुनामा पठाउने विषयमा थुनछेक सुनुवाइ गर्ने अदालतको तयारी छ।
गत आइतबारदेखि साहको सम्पत्ति शुद्धीकरण मुद्दामा सुनुवाइ सुरु भएको थियो। मंगलबार विशेषले उनको सम्पत्ति लुकाउने कार्यमा सहयोग गरेको आरोप लागेका ओमप्रकाश गुप्तासँग १ लाख १० हजार धरौटी माग गरेको थियो। अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनी थुनामा गएका थिए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले साहसहित १३ जना विरुद्ध सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विपक्षी बनाएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले साह विरुद्ध ३२ करोड ४ लाख ५० हजार सम्पत्ति गैरकानुनी आर्जन गरेको दाबी गर्दै विशेषमा मुद्दा चैत १६ गते दायर गरेको थियो। साहले विभिन्न गैरकानुनी गतिविधिबाट रकम आर्जन गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान ऐन विपरीत कार्य गरेकाले उक्त रकम जफत र कैद सजाय माग गर्दै मुद्दा दायर भएको थियो।
साह विरुद्ध यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अकुत सम्पत्ति आर्जन मुद्दा पनि विचाराधीन छ। अख्तियारले सांसद र मन्त्री हुँदा पदको दुरुपयोग गर्दै साहले ३१ करोड बराबरको रकम अवैध आर्जन गरेको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
जनकपुर बम विस्फोटनको अभियोगमा जिल्ला अदालत धनुषाको आदेशले थुनामा रहेका साह विरुद्ध चार वटा अभियोग छ। जनकपुर बम विस्फोट र सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा थुनामा रहेका उनी विरुद्धको चौथो अभियोग हो। तीन वटा मुद्दामा बयान दिँदै उनी पुर्पक्षको लागि अदालतको आदेशले थुनामा छन्।
विभागको २ वर्ष लामो अनुसन्धान प्रतिवेदन अनुसार साहले हत्या, अपहरण, फिरौती, जबर्जस्ती असुली लगायत अपराधजन्य गतिविधिबाट आर्जन गरेको चल-अचल गरी ३२ करोडको सम्पत्ति देखिएको सम्पत्ति शुद्धीकरण मुद्दाको आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।