काठमाडौं–नेपाली कांग्रेसकी सांसद एवं छाया श्रममन्त्री डिला संग्रौलाले स्वदेश फर्कने पर्खाइमा रहेका नागरिकलाई दसैंअगावै स्वदेश फर्काउन माग गरेकी छन्।
खाडी मुलुक तथा मलेसियाबाट झन्डै तीन लाख युवा स्वदेश फर्कने पर्खाइमा रहेको उनले जानकारी गराइन्। फर्कन इच्छुक कामदार विमानको टिकट किन्न सक्ने स्थितिमा नभएको उनले बताइन्। सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा नगरेको भन्दै उनी आपत्ति जनाइन्।
विदेशस्थित नेपाली नियोग र संस्थासँग समन्वय गरि नागरिक फर्काउन उनले आग्रह गरेकी छन्। कामदारका पक्षमा आवाज उठाउने थलो संसदलाइ हठात् बन्द गरिएको उनले बताइन्। यस्तै बेखर्ची कामदारलाई गुजारा चलाउन समस्या रहेको पनि उनकाे भनाइ छ।
संग्रौलाले कामदार स्वदेश फर्काउने विषयमा सरकारसँग राखेका माग:
१. कोरोना महामारीका कारण काम गुमाएर लामो समयदेखि खानाका लागि पनि अरुको राहतको आशामा बसेका श्रमिकहरुको पहिचान गरी तत्काल नि:शुल्क उद्धार गरियोस् ।
२. श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन वाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकहरुलाई सर्वोच्चको आदेशअनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गरियोस् ।
३. विदेशमा समस्यामा परी फर्किनै पर्ने अवस्थाका हजारौँ श्रमिक दाजुभाइ-दिदिबहिनीहरुलाई दसैंअगावै स्वदेश फर्काउन सके नि:शुल्क, नसके कम शुल्कको उडानको व्यवस्था गर्दै श्रमिकहरुले नै तिर्ने गरी सात दिनका लागि होटल बुकिङ गर्नै पर्ने निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई नि:शुल्क क्वारेन्टाइनको व्यवस्था गरियोस् ।
४. विदेशको विकासका लागि अनुभव बटुलेका श्रमिकहरुको सीपलाई प्रयोग गरि देश विकासमा उनीहरुको सहभागितासहितको रोजगारी र स्वरोजगार ब्यापार–व्यवसाय गर्नेहरुलाई कम ब्याजदरमा सुलभ ऋण र अनुदानको व्यवस्था गरियोस् ।
५. अहिले कोरोना संकटभन्दा पहिले नै दुःखद निधन भएका नेपालीहरुका शव विदेशमा अलपत्र छन् । उनीहरुको शव यथाशिघ्र नेपाल ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाइयोस् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।