लुम्बिनी– २५६२औँ बुद्धजयन्तीको पूर्वसन्ध्यामा बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ। बौद्ध सम्मेलनको उद्घाटन सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गरेका छन्।
आइतबारसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने बताइए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री आउन नसक्ने भएपछि मन्त्री अधिकारीले नै सम्मेलनको उद्घाटन गरेका हुन्।
सम्मेलनमा मुख्य वक्ता दुरहाम विश्वविद्यालयका प्र्राध्यापक रविन कनिंघमले आफ्नो कार्यपत्र पेश गर्दै छन्। सम्मेलनमा १६ देशका विज्ञहरुले बौद्धसगँ सम्बन्धित १४ विभिन्न उपशीर्षकहरुमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ। लुम्बिनी विकास कोषका सदस्यसचिव सरोज भट्टराईले १६ जना राष्ट्रिय र १४ अन्तर्राष्ट्रिय गरी ३० जनाले १४ वटा विभिन्न उपशीर्षकहरुमा गौतम बुद्ध तथा बौद्ध धर्मसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने बताए। लुम्बिनीस्थित चिनियाँ बिहारको दुई वटा सभाहलमा समानन्तर प्रणालीमा कार्यपत्रहरु प्रस्तुत हुँदैछन्।
सम्मेलनमा विभिन्न देशका ६० जना बढी अतिथि सहभागी भएका छन्। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्राज्ञिक व्यक्तित्व तथा अनुसन्धानदाताहरुले बौद्ध धर्म, दर्शन, संस्कृति तथा सम्पदा सम्बन्धि विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्। प्रस्तुत कार्यपत्रहरुको निश्कर्षको रुपमा सम्मेलनको अन्तिम दिन भोलि ‘लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन घोषणा पत्र २०१८’ जारी हुने सदस्यसचिव सरोज भट्टराईले बताए।

कोषका उपाध्यक्ष अवेधश कुमार त्रिपाठी (भिक्षु मैत्रेय)ले छोटोे अवधी भएपनि बौद्ध सम्मेलन र बुद्ध जयन्तीलाई सफल बनाउनका लागि सरोकारवालाहरुले महत्वपुर्ण योगदान दिएको बताउँदै यसले विश्वमाझ लुम्बिनीलाई चिनाउन थप टेवा पुग्ने दावी गरे।
बुद्धसगँ सम्बन्ध रहेको रुपन्देही, कपिलवस्तु, नवलपरासी जिल्लाका पुरातात्विक तथा धार्मिक स्थल एवम् बुद्धको अमृतमय शिक्षालाई प्रचार–प्रसार गरी जनताको कल्याण गर्ने तथा आपसी सद्भाव बढाउने लगायत उद्देश्यले सम्मेलन आयोजना गरीएको कोषका उपाध्यक्ष त्रिपाठीले बताए। उनले सम्मेलन तथा बुद्धजयन्ती आयोजना गर्नका लागि सरकारबाट रकम प्राप्त नभएपनि कोषको आन्तरीक बजेटबाट ६ करोड विनियोजन गरी कार्यक्रम गर्न लागिएको बताए।
यस वर्षको सम्मेलन र जयन्तीको ‘लुम्बिनी, नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’ मूल नारा रहेको छ। कोषका अनुसार सम्मेलनमा अमेरिका, थाइल्यान्ड, भारत, चीन, श्रीलंका, कोरिया, मलेसियालगायतका राष्ट्रले सहभागिता जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।