काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले विदेशमा संकटमा रहेका नागरिकलाई सहयोग गर्नुपर्नेमा सरकारले उल्टै सास्ती दिएको आरोप लगाएका छन्। नेता थापाले चार्टर फ्लाइटभन्दा महँगो हवाई भाडा तिर्नु परेकोभन्दै यस्तो आरोप लगाएका हुन्। नेपाल वायु सेवा निगमले उठाइरहेको भाडादर र संक्रमणको समयमा उद्धारको बेलाभन्दा अत्यधिक बढी रहेको उनले बताए।
स्वदेश फर्कने नागरिकले चर्को भाडादर बुझाउनु परेपछि थापाले फेसबुकमा भ्लग सार्वजनिक गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सामान्य बेलाभन्दा नागरिकप्रति संकटको बेला दायित्व बढ्ने नेता थापाले भिडियोमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। सरकारले बनाएको निर्देशिकाअनुसार कल्याणकारी कोषको खर्च गरी एक जना पनि स्वदेश फर्कने अवस्था नरहेको उनले सुनाए।
नेपाल फर्कनका लागि सरकारी निकायले नागरिकलाई पुर्याएको सास्ती प्रति उनले आपत्ति जनाए। उनले भने, 'टिकट काट्न पाएका छैनन्। अनेक दुःख पाएर पनि टिकट काटेपछि घर आउन नपाएपछि आत्महत्यासमेत गरेका घटना आएका छन्।'
नेपाल एयलाइन्सको भाडा नै महँगो बनाएपछि निजी तथा विदेशी वायु सेवा प्रदायकलाई महँगोमा टिकट बेच्ने बाटो खुलेको उनले तथ्य सुनाए। भिषाविहीन कामदार फिर्ताको लागि स्पष्ट कार्ययोजना ल्याउन उनले सरकारको ध्यानाकर्षण गराए।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।