गोयाङ– ऐतिहासिक शिखर वार्तापछि दुवै कोरियाली राष्ट्रप्रमुखले कोरियाली प्रायद्विपलाई पूर्णरुपमा परमाणु निःशस्त्रीकरण क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन्। आज कोरियाली सीमा क्षेत्र पानमुनजोममा शिखर वार्तापछि संयुक्त प्रेस भेटघाटमा बोल्दै दुबै नेताहरुले दुई देशबीचको सैन्य तनाव कम गर्न आफ्ना परम्परागत हतियारको प्रयोगमा कमी ल्याउनेसमेत प्रष्ट पारे।
सो क्रममा उनीहरुले कोरियाली प्रायद्विपमा स्थायी शान्तिका लागि दुवै देशले संयुक्त रुपमा प्रयास गर्नेमा एकमत रहेको बताए। उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इन आजै भएको दुई चरणको वार्तापछि सो सहमतीमा पुगेका हुन्।

‘कोरियाली प्रायद्विपमा अब युद्ध नहोस् र नयाँ शिराबाट शान्ति स्थापनाको बाटो खुलोस् भन्ने ८ करोड कोरियाली जनता तथा विश्वको चाहनाभन्दा अघि नै हामी दुवै नेताहरु आत्मादेखि सो कार्यमा एक बिन्दुमा पुगेका छौँ।’, संयुक्त सैन्य सीमा क्षेत्र पानमुनजोममा भएको संयुक्त घोषणा हस्ताक्षर कार्यक्रममा दुवै नेताले भने।'
कोरियाली प्रायद्विपमा स्थायी शान्ति स्थापनाका लागि दुवै नेताले आ–आफ्नो तर्फबाट प्रतिबद्ध रहने जिकिर गरे। दुई राष्ट्रबीच भएको गैर–आक्रमकताको सम्झौतालाई कडाईका साथ लागु गराउन सहमत भएका दुवै नेताले अबको समयमा एकअर्काविरुद्ध कुनैपनि किसिमको बल प्रयोग नगर्ने प्रष्ट पारेका छन्।

‘दुबै देशका बीचमा व्यवहारिक रुपमै विश्वास स्थापना भएको र सैन्य तनाव हटेको अवस्थामा क्रमैसँग आफ्ना हतियारको प्रयोगमा समेत कमी ल्याउन हामी सहमत भएका छौं।’, संयुक्त घोषणामा भनिएको छ,‘दक्षिण र उत्तर कोरिया आफ्नो परमाणु निःशस्त्रीकरणको माध्यमबाट कोरियाली प्रायद्विपलाई परमाणुमुक्त क्षेत्र बनाउने साझा लक्षमा एक ठाउँमा रहेका छन्।’
शान्ति सम्झौताको माध्यमबाट कोरियाली युद्धको औपचारिक रुपमा समाप्त गर्नका लागि दुवै कोरिया अमेरिका र चीनलाई समेत सामेल गराएर ३ देखि ४ चरणको वार्ता गर्न सहमत भएका छन्।

दुवै राष्ट्रबीच प्राविधिक रुपमा अझै पनि युद्ध समाप्त भइसकेको छैन। किनकी सन् १९५० मा सुरु भएको कोरियाली युद्ध १९५३ मा शान्ति सम्झौता नभई युद्धविराम मात्रै भएर टुंगिएको थियो।
सैन्य तनावलाई बढावा दिनेगरि समुद्र तथा वायुलगायतका क्षेत्रमा हुने कुनै पनि किसिमको गतिविधिमा रोक लगाउन पनि दुवै राष्ट्रप्रमुख सहमत भएका छन्।
यससम्बन्धि थप छलफलका लागि दुवै देशका सैन्य अधिकारीहरुबीच आगामि मे महिनाको अन्तिमसम्ममा सामान्य किसिमको वार्ताको आयोजनासमेत हुने भएको छ।

शिखर वार्ताका लागि ९ सदस्यीय उत्तर कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेता किम जोङ उन आज बिहान स्थानीय समयअनुसार ९ः३० मा दक्षिण कोरियाली क्षेत्र पानमुनजोम आएका थिए।
अब रात्रीभोजमा सम्मिलित भएपछि उत्तर कोरियाली प्रतिनिधिमण्डल आजै स्वदेश फर्किने बताइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।