काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। बैठकमा केन्द्रीय सदस्यहरूले आज आफ्नो धारणा राख्ने क्रम सकिएसँगै पदाधिकारीले जवाफ दिने भनिए पनि बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
महामन्त्रीले बैठकमा उठेका धारणालाई निर्णयार्थ पेश गर्न थप समय लिन चाहेकाले बैठक भोलिसम्मका लागि स्थगित भएको हो। 'धेरै दिनसम्म चलेको बैठकमा उठेका धारणालाई अन्तिम रुप दिनुअघि थप परामर्श गर्नु राम्रो हुने भएकाले महामन्त्रीले समय लिनुभएको हो', कांग्रेस प्रवक्ता शर्माले भने, 'भोलि उहाँले आफ्नो प्रतिवेदन पेश गर्नुहुन्छ।'
आजको बैठकमा अन्तिममा केन्द्रीय सदस्य रामचन्द्र पौडेलले आफ्ना धारणा राखेका थिए।
बैठकमा हिजो ३ घन्टाभन्दा बढी बोल्दा पनि आफ्नो धारणा नसिध्याएका विशेष आमन्त्रित सदस्य विजयकुमार गच्छदारले आज थप सबा १ घन्टा बोलेका थिए।
'उहाँले पार्टी एकीकरण गर्दा भएका सम्झौताहरूलाई चाँडो लागू गर्न जोड दिनुभयो', प्रवक्ता शर्माले भने, 'बैठक भोलि ९ बजे पुनः बस्नेगरी स्थगित भएको छ।'
गच्छदारपछि बोलेका पौडेलले चुनावमा अन्तर्घात गर्नेहरूलाई छानबिन गरी कारबाही गर्न जोड दिएका थिए। साथै पौडेलले पार्टी अनुशासनबारे पनि धारणा राखेका थिए। 'नेपाली कांग्रेसलाई आजको दिनमा सुदृढ बनाउने हो भने अनुशासित बनाउनुपर्छ', बैठकमा पौडेलले भनेका थिए।
१२ दिन लगाएर सम्पन्न भएको बाह्रौं बैठकसम्म झण्डै ७० जना कांग्रेस केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन्। उनीहरुले चुनावमा पार्टी हारका कारणहरु पनि विभिन्न कोणबाट उठाएका थिए।
दुई कम्युनिष्ट पार्टी मिलेकाले कांग्रेस हारेको भन्नेदेखि सभापतिले उपयुक्त रणनीति बनाउन नसकेकाले हारेको भन्ने धारणासम्म आएका छन्। त्यस्तै धेरै सदस्यले कांग्रेस सरकारले गरेका राम्रा कामहरुको उपयुक्त सम्प्रेषण गर्न नसकेका कारण पनि हार व्यहोर्नुपरेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।