गौरादह नगरपालिकास्थित विकास काममा सहभागी हुँदै युवाहरू काठमाडौं- कोरोनाको प्रत्यक्ष प्रभाव रोजगारीको क्षेत्रमा परेको छ। वैदेशिक रोजगारीमा गएका तथा देशभित्रै पनि लाखौं युवाहरु कोरोनाका कारण बेरोजगार बनेको अवस्था छ।
सोही अवस्थालाई मध्यनजर गर्दै झापास्थि खखद त गौरादह नगरपालिकाले रोजगारी सिर्जनाका कार्यक्रममा जोड दिएको जनाएको छ।
देशभित्र तथा विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरुका लागि नगरपालिकाले विशेष गरेर कृषि तथा पशुपालन क्षेत्रमा आधारित रहेर रोजगार सञ्चालन गर्ने योजना बनाएको नगरपालिकाकी उपमेयर गिता भेटवालले बताइन्।
‘हाम्रो नगरपालिकामा ठूलाठूला उद्योगधन्दा छैनन्। रोजगारी सिर्जनाको प्रमुख क्षेत्र भनेको कृषि तथा पशुपालन नै हो। हामीले सोही कार्यक्रममार्फत् युवाहरुलाई आफ्नै देशमा आकर्षित गर्ने योजना बनाएका छौं’ उनले भनिन्।
आर्थिक वर्ष २०७७/०७८ मा बजेटको २० प्रतिशत रोजगारी सिर्जनामा छुट्याएको नगरपालिकाले जनाएको छ।
त्यस्तै नगरपालिकाले मेयर/उपमेयर स्वरोजगार कार्यक्रम भनेर २० लाख बजेट छुट्याएको जनाएको छ। यो कार्यक्रमबा लागि आव २०७७/०७८ मा संघीय सरकारबाट ५७ लाख बजेट प्राप्त भइसकेको उपमेयर गिता भेटवालले बताइन्।
यो कार्यक्रममार्फत् युवाहरुलाई स्वरोजगार प्रदान गर्ने तथा यसबाट ठूलो संख्यामा रोजगारी सिर्जना हुने विश्वास नगरपालिकाले लिएको छ।
नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको पुनर्स्थापनामा विशेष जोड दिएको उल्लेख गरेको छ। त्यस्तै उनीहरुलाई रोजगारी तथा स्वरोजगारका कार्यक्रममा आबद्ध गराउन क्षमता अभिवृद्धिका कार्यक्रमहरु समेत अघि सार्ने नगरपालिकाको योजना रहेको उपमेयर भेटवालले जानकारी दिइन्।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् छोटो अवधिको रोजगारी भए पनि सिर्जना भइरहेको नगरपालिकाले जनाएको छ।
अघिल्लो आर्थिक वर्षमा १ सय जनालाई न्यूनतम ३० दिनको रोजगारी नगरपालिकाले उपलब्ध गराएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।