काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि गृह मन्त्रालयले सुरक्षा तयारी थालेको छ। मोदीको भ्रमणको तयारी स्वरुप बिहीबार दुई पटक गृह मन्त्रालयमा बैठक बसेको छ।
बिहान शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख रामकृष्ण सुवेदीको नेतृत्वमा तथा साँझ गृहसचिव प्रेमकुमार राईको नेतृत्वमा बैठक बसेको हो।
बैठकमा गृहसचिव राईले सबै निकायलाई तयारी सुरु गर्न निर्देशन दिएका छन्। सो बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सहभागी थिए। गृह सचिव राईले सूचना संयन्त्रलाई थप सक्रिय बनाउन निर्देशन दिएका छन्।
आगामी वैशाख २८ मा भारतीय प्रधानमन्त्री मोदी दुई दिने नेपाल भ्रमणमा आउँदैछन्। यद्यपि औपचारिक रुपमा मिति घोषणा भने भइसकेको छैन।
भारतीय प्रधानमन्त्रीको भ्रमणमा धेरै सुरक्षा चुनौती रहेको भन्दै गृहले २ साताअघिदेखि तयारी थालेको हो। मोदी जनकपुरधाम जाने भएकाले पनि सुरक्षा निकाय थप चनाखो हुनुपर्ने अवस्था रहेको गृहका एक अधिकारीले बताए। भारतीय प्रधानमन्त्रीको सुरक्षा तयारीका लागि छलफल थालिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।
विदेशीहरुमाथि निगरानी, होटलमा चेकिङ
प्रहरीले नेपाल आउने विदेशीहरुमाथि निगरानी सुरु गरिसकेको छ। स्रोतका अनुसार शंकास्पद विदेशीहरुको सूची अध्यागमन विभागबाट लिएर उनीहरुमाथि निगरानी सुरु गर्न प्रहरीलाई निर्देशन दिइएको छ।
त्यस्तै, भारतसँगका नाकामा पनि सुरक्षा व्यवस्था कडा बनाइएको। उपत्यकामा होटलहरुमा निगरानी बढाइएको छ भने आकस्मिक चेकिङहरु पनि बढाइएको काठमाडौं परिसरका एक प्रहरी अधिकारीले बताए।
भारतीय सुरक्षा अधिकारीहरु काठमाडौं
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी स्वरुप भारतीय सुरक्षा अधिकारीहरु काठमाडौं आइसकेका छन्। भारतको आन्तरिक गुप्तचरी हेर्ने निकाय इन्टेलिजेन्स ब्युरो (आइबी) की उपसचिव सुरभी शर्मा बुधबार नेपाल आएकी छिन्। अन्य सुरक्षा अधिकारीहरु समेत नेपाल आइसकेको स्रोत बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।