बग्दाद- फ्रान्सका राष्ट्रपति इयानुएल म्याँक्रो बुधबार इराकको राजधानी बग्दाद आइपुगेका छन्। लेबनानको दुई दिने भ्रमणपछि उनी इराक पुगेको इराकी टेलिभिजनले समाचार प्रसारण गरेको छ।
इराकमा पूर्व गुप्तचर प्रमुख मुस्ताफा अल कादिमी प्रधानमन्त्री भएपछि फ्रान्सबाट इराक आएकामध्ये म्याक्रो नै सबैभन्दा वरिष्ठ पदाधिकारी हुन्। इराकमा कादिमीको नेतृत्वमा गत मे महिनामा नयाँ सरकार गठन भएको हो।
फ्रान्सेली राष्ट्रपति म्याँक्रोले इराक भ्रमणका क्रममा इराकी राष्ट्रपति बर्हाम सलिह, प्रधानमन्त्री कादिमीलगायतका शीर्ष नेताहरुलाई भेट्ने अपेक्षा गरिएको छ।
भेटवार्ताका क्रममा उनीहरुका बीचमा आपसी सम्बन्ध, दुई पक्षीय सहकार्य, कोरोनाभाइरसको असर, आर्थिक संकट, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोलगायतका विषयमा छलफल हुने बताइएको छ।
लेबनान भ्रमणकै क्रममा पनि उहाँले आफू इराकको समेत भ्रमणको तयारीमा रहेको र त्यहाँँको भ्रमणका क्रममा शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने बताएका थिए।
अल कादिमी नेतृत्वको सरकारलाई इराकमा संयुक्त राष्ट्रसंघले पनि समर्थन गरेको छ। तर अमेरिका र इराकका बीचमा भने तनाब थप बल्झिएको छ।
इराकमा गत जनवरीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको अमेरिकी हवाई आक्रमणका क्रममा मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको हो।
फ्रान्सेली राष्ट्रपति म्याँक्रोले अमेरिकासँगको सम्बन्ध सुधारका बारेमा पनि इराकी शीर्ष नेताहरुसँग छलफल गर्ने अपेक्षा गरिएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।