काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूलाई नदिइएकोमा पुनः असन्तुष्टि जनाउँदै यस निर्णयले नर्वेको प्रतिष्ठामा कहिल्यै नमेटिने दाग लागेको टिप्पणी गरेका छन्। उनले आफूले आठवटा युद्ध रोकेको दाबी गर्दै त्यसका लागि आठ पटक नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
ट्रम्पले शुक्रबार प्रतिक्रिया दिँदै आफूलाई पुरस्कार नदिनु लज्जास्पद र अपमानजनक भएको बताए। यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी पूर्व संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुख नवी पिल्लैलाई प्रदान गरिएको छ। ट्रम्पले पिल्लैलाई कसैले नचिन्ने दाबीसमेत गरे।
‘नोबेल पुरस्कार आज संयुक्त राष्ट्रसंघमा काम गर्ने एक उदारवादीलाई दिइयो, जसका बारेमा कसैले सुनेको छैन,’ ट्रम्पले भने। ट्रम्पले आफूले भारत र पाकिस्तानबीचको युद्ध रोक्न भूमिका खेलेको दाबीलाई पनि दोहोर्याए। उनका अनुसार आणविक हतियार भएका दुवै देशलाई युद्धबाट रोकेर उनले पाँच करोड मानिसको ज्यान बचाएका थिए।
उनले इरान तथा रुस–युक्रेन युद्ध अन्त्य गराउने दिशामा पनि आफूले काम गरिरहेको बताए। ट्रम्पले इरानलाई आणविक हतियार हासिल गर्नबाट रोकेको दाबी गर्दै त्यसो नभएको भए मध्यपूर्वसँगै युरोप र अमेरिकासम्म विनाश फैलिन सक्ने बताएका छन्।
‘मैले इतिहासमा अरू कुनै पनि व्यक्तिले भन्दा बढी मानिसको ज्यान बचाएको छु,’ ट्रम्पले भने। उनले नोबेल शान्ति पुरस्कार अमेरिकाले पाउनुपर्ने भए पनि नपाएको भन्दै यस विषयमा नर्वेलाई अमेरिकाले कहिल्यै नबिर्सने टिप्पणी गरे।
पिल्लैको व्यङ्ग्यात्मक प्रतिक्रिया
नोबेल शान्ति पुरस्कार प्राप्त गरेपछि पिल्लैले ट्रम्पप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेकी छन्। पुरस्कार घोषणा भएपछि उपस्थित सहकर्मीहरूले ताली बजाइरहेका बेला उनले ठट्टा गर्दै भनिन्,‘तपाईहरूले अझै केही बेर ताली बजाउनुभयो भने सायद म यो पुरस्कार ट्रम्पसँग बाँड्न सक्छु।’
पिल्लैलाई युद्ध अपराध तथा नरसंहारका दोषीलाई सजाय दिलाउन र अन्तर्राष्ट्रिय कानुनलाई सुदृढ बनाउन गरेको योगदानका लागि पुरस्कार प्रदान गरिएको हो। नोबेल समितिका अनुसार विश्वमा युद्ध र द्वन्द्व बढिरहेका बेला शान्ति कायम राख्न अन्तर्राष्ट्रिय कानुनको पालना गर्नु र त्यसलाई थप सुदृढ बनाउनु आवश्यक छ।
यसअघि भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोले पनि ट्रम्पलाई आफ्नो नोबेल पदक दिएकी थिइन्। माचाडोले सन् २०२५ को नोबेल शान्ति पुरस्कार लोकतान्त्रिक अधिकारका लागि गरेको कामबापत प्राप्त गरेकी थिइन्। त्यसपछि ह्वाइट हाउसमा ट्रम्पसँग भेट गरेकी उनले आफ्नो पदक ट्रम्पलाई दिएकी थिइन्।
तर, माचाडोले पदक दिए पनि नोबेल शान्ति पुरस्कार ट्रम्पलाई हस्तान्तरण भएको थिएन। पुरस्कार माचाडोकै नाममा कायम रहेको थियो। नोबेल समितिका अनुसार पुरस्कार अर्को व्यक्तिलाई हस्तान्तरण गर्न, बाँड्न वा फिर्ता गर्न सकिँदैन।
सन् २०१८ देखि नै पुरस्कारप्रति ट्रम्पको चासो
नोबेल शान्ति पुरस्कारप्रति ट्रम्पले चासो देखाएको यो पहिलो पटक होइन। उनले सन् २०१८ देखि नै विभिन्न अवसरमा आफूले पुरस्कार पाउनुपर्ने धारणा व्यक्त गर्दै आएका छन्।
सन् २०१८ को अक्टोबरमा एक कार्यक्रममा उनले उत्तर कोरिया र सिरियामा शान्ति कायम गर्ने प्रयास गरिरहेको भए पनि आफूले सायद नोबेल शान्ति पुरस्कार कहिल्यै नपाउने बताएका थिए।
सन् २०१९ को फेब्रुअरीमा उनले जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले आफूलाई नोबेल पुरस्कारका लागि मनोनयन गरेको बताएका थिए। तर, आफूले पुरस्कार जित्नेमा विश्वस्त नरहेको उनको भनाइ थियो।
त्यही वर्ष एक पाकिस्तानी पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले पुरस्कार निष्पक्ष रूपमा प्रदान गरिने हो भने विभिन्न कामका लागि आफूले धेरै नोबेल पुरस्कार पाउनुपर्ने बताएका थिए।
सन् २०२० को राष्ट्रपतीय निर्वाचनका क्रममा पनि उनले नोबेल पुरस्कारको विषय उठाएका थिए। पूर्वराष्ट्रपति बाराक ओबामाले पुरस्कार पाएको प्रसङ्ग उल्लेख गर्दै ट्रम्पले ओबामाले पाउन सक्ने भए आफूले पनि पाउनुपर्ने बताएका थिए।
ओबामालाई आठ महिनामै पुरस्कार दिएको भन्दै ट्रम्पको आलोचना
हालसम्म चार अमेरिकी राष्ट्रपतिले नोबेल शान्ति पुरस्कार प्राप्त गरेका छन्। उनीहरूमा थिओडोर रुजवेल्ट, वुड्रो विल्सन, जिम्मी कार्टर र बाराक ओबामा छन्।
ओबामाले सन् २००९ मा राष्ट्रपतिको पहिलो वर्षमै नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए। उनको पुरस्कारप्राप्तिलाई लिएर ट्रम्पले पटकपटक असन्तुष्टि जनाउँदै आएका छन्।
ट्रम्पले ओबामाले कुनै उल्लेखनीय काम नगरे पनि पदभार सम्हालेको आठ महिनामै पुरस्कार पाएको टिप्पणी गरेका थिए।
‘ओबामाले आठ महिनामै यो पुरस्कार पाए, जबकि उनले केही पनि गरेका थिएनन्। ओबामालाई पनि आजसम्म आफूले यो पुरस्कार किन पाएको भन्ने थाहा छैन,’ ट्रम्पले भनेका थिए।
नोबेल समितिले भने ओबामालाई अन्य देशसँग संवाद बढाउन र विश्वलाई आणविक हतियारमुक्त बनाउने प्रयासका लागि पुरस्कार प्रदान गरेको थियो। राष्ट्रपतिको कार्यकाल सुरु भएको छोटो समयमै उनलाई पुरस्कार दिने निर्णय त्यतिबेला पनि बहस र विवादको विषय बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।