काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षासहित चार अध्यादेश स्वीकृत गर्दै जारी गरेकी छिन्।
सरकारले प्रतिस्थापन विधेयकको सट्टा अध्यादेश जारी गरेको थियो। प्रतिस्थापन विधेयक पेश गर्न संसदको बजेट अधिवेशन चलेकाले केही समय ढिलागरी ऐनको रुप दिन सरकारले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
राष्ट्रपति भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षाका साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन), राष्ट्रियसभा निर्वाचन र संघीय संसदका महासचिव र सचिवको पारिश्रमिक सम्बन्धी अध्यादेश जारी गरेकी हुन्।
बेपत्ता छानबिन र सत्य निरुपणसँगै चिकित्सा र राष्ट्रियसभा अध्यादेश प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा समेत जारी भएको थियो। सरकारले उक्त तीन वटै अध्यादेश संसदमा पेश गरेको थियो। तर, प्रतिस्थापन विधेयक ल्याउनुअघि नै संसद् अधिवेशन अन्त्य भएको थियो।
सरकारले ती तीन वटै विधेयकलाई निरन्तरता दिएको हो। नयाँ अध्यादेश जारी नभएको भए देउवा सरकारले ल्याएका अध्यादेश आउँदो बैसाख २० गतेबाट निस्क्रिय हुँदै थिए। उक्त अध्यादेश निस्क्रिय भएमा पुन: मस्यौदा गरी पेश गर्नुपर्ने भएकाले सरकारले यसलाई पुन: अध्यादेशको रुपमा जारी गरेको हो। संघीय संसदको महासचिव र सचिवको पारिश्रमिक सम्बन्धी अध्यादेश भने संसदमा दुई राजनीतिक सचिव नियुक्ति प्रक्रिया अगाडि बढाउन ल्याइएको हो।
यसअघि नै प्रतिनिधिसभाको सचिवमा गोपालनाथ योगी र राष्ट्रियसभाको सचिवमा राजेन्द्र फुयाँल सिफारिस भएका थिए। सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले क्रमश योगी र फुयाँलको नाम सिफारिस गरेका थिए।
तर, राष्ट्रपति भण्डारीले नियुक्तिका लागि आवश्यक कानुन नभएको अवस्थामा दुवैको नियुक्ति अगाडि बढाएकी थिइनन्। कानुन बनेसँगै दुवैको सिफारिस कार्यान्वयनमा जाने बाटो खुलेको छ। आगामी संसदमा ६० दिनभित्र नयाँ प्रतिस्थापन विधेयक पेश गर्ने समय पनि सरकारले पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।