नेपालगन्ज– दुर्लभ वन्यजन्तु सालकको करिब ५ केजी खपेटासहित नेपालगन्जबाट पक्राउ परेका हुम्ला सिमिकोटका कोन्छिरिङ्ग लामालाई जिल्ला अदालत बाँकेले पुरपक्षका लागि कारागार चलान गरेको छ।
लामासंगै पक्राउ परेका उनका सहयोगी बाँके राप्ती सोनारी–२ का सुजितजंग शाह भने ७ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन्।
जिल्ला वन कार्यालय बाँकेले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिबिआई)कोे पिल्लर फोर र सरकारी वकिलको कार्यालय बाँकेसँग समन्वय गरेर अभियुक्त लामा र शाहकाविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको थियो।
जिल्ला अदालत बाँकेका न्यायाधीश विष्णु सुवेदीको इजलाशबाट लामालाई जिल्ला अदालत बाँकेले पुरपक्षका लागि कारागार चलान गर्ने र शाहलाई ७ लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको अनुसन्धानमा संलग्न जिल्ला वन कार्यालय बाँकेका रेन्जर रमेश बुढाथोकीले बताए।
अनुसन्धानबाट लामा नेपाल, भारत र तिब्बतमा समेत हुने वन्यजन्तुको अवैध कारोबारमा विगत ८ वर्षदेखि संलग्न हुँदै आएको तथ्यहरु फेला परेको थियो।
लामा सन २०११ देखि भारतको पिलिभित सम्पूर्णानगर एरियाको लम्बु फरियाद सकिल समुहसँग मिलेर बाघ र सालकको खपटा तस्करीमा संलग्न रहेको प्रमाण फेला परेको थियो। बाँके, बर्दिया, कैलाली, कन्चनपुरलगायत जिल्लाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेर अभियुक्त लामा वन्यजन्तुको अवैध कारोबारमा संलग्न रहेको रेन्जर बुढाथोकीले बताए।
लामा पक्राउ हुँदा बरामद भएको उनको मोबाइल सेटमा पाटे बाघको छालाको फोटो समेत फेला परेको थियो। लामाको सिटिजन बैंकको खातामा ५/६ महिनाको अवधीमै करिब ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ। त्यो रकम वन्यजन्तुको तस्करीको कारोबारबाट उनको खातामा आएको हुनसक्ने आशंका सिबिआईले गरेको छ।
लामाले वन्यजन्तुको अवैध कारोबारमा संलग्न बावरीया र लम्बु फरियाद सकिल समुहसँग मिलेर दुर्लभ वन्यजन्तुको हाड, छाला लगायतका अंगहरुहरुलाई बझाङ, बाजुरा र हुम्ला नाका हुँदै तिब्बतसम्म पुराउने गरेकोे पनि अनुसन्धानबाट खुलेको बुढाथोकीले बताए।
सिबिआईको पिल्लर फोरले लामाका सम्बन्धमा जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय हुम्ला, जिल्ला प्रशासन कार्यालय बाँके, भारतको वन्यजिव अपराध नियन्त्रण व्युरो तथा इन्टरपोल समेतमा समन्वय गरी अनुसन्धान गरि जिल्ला वन कार्यालय बाँकेलाई लिखित प्रतिवेदन बुझाएको थियो।
सिबिआईले बुझाएको प्रतिवेदनलाई समेत आधार बनाएर वन कार्यालयले लामा र उनीसँगै पक्राउ परेका उनका सहयोगी बाँके राप्तीसोनारी–२ का सुजितजंग शाहकाविरुद्ध जिल्ला अदालत बाकेमा मुद्दा दायर भएको थियो।
लामाकाविरुद्ध संरक्षित सूचीमा रहेको वन्यजन्तु सालकको खपटाको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा मुद्दा दायर गरिने अनुसन्धान अधिकृत बुढाथोकीले बताए। अभियोग पुष्टी भएमा लामालाई १५ वर्ष कैद वा १० लाखसम्म जरिमाना वा दुबै हुनसक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।