काठमाडौं– सर्वोच्च अदालतले हनुमानढोका दरबार क्षेत्र प्रवेश स्थलमा निर्माणाधीन रहेको क्रिस्टल भवन निर्माण तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले विश्व सम्पदा सूचीमा परेको क्षेत्रमा पुरातात्विक महत्वको डिजाइनबिनै भवन निर्माण कार्य भएको भन्दै भवन निर्माण हाल यथास्थितिमा रोक्न भनेको हो।
विश्व सम्पदा सूचीमा रहेको क्षेत्रमा व्यापारिक भवन निर्माण गर्दा प्राचीन स्मारक ऐन पालना हुनुपर्ने र सोही नमूना अनुसार हुनुपर्नेमा उक्त भवन नदेखिएको जिकिर गरिएको छ। अदालतको यो आदेशपछि पुरातात्विक मापदण्ड पालना नभएका भवनहरु उक्त क्षेत्रमा निर्माण गर्न पाइने छैन।
जनहित संरक्षण मञ्चका तर्फबाट प्रकाशमणि शर्माले भवन आधुनिक सिमेन्ट र ढुंगाको प्रयोग गर्दै पुरातात्विक क्षेत्रको मापदण्ड विपरीत निर्माण भएकाले रोक्न माग गर्दै बैसाख १० गते रिट दायर गरेका थिए।
सरकारले २०४१ साउन १५ गते राजपत्रमा काठमाडौं महानगरपालिका वडा नं २४ को कित्ता नं ९४२ को क्षेत्रफल ६२७.९८ वर्गमिटरको जग्गा हनुमानढोका क्षेत्रभित्रको संरक्षित स्मारक घोषणा गरेको थियो। उक्त क्षेत्रको चार किल्लाभित्र पर्ने जग्गामा महर्जन बिजनेस एसोसिएट्स प्रालिले २०७३ असोज १७ गते प्राचीन स्मारक संरक्षण ऐन २०१३ (संशोधन सहित) र १४ वटा सर्त भएको कबुलियतनामा विपरीत जग राख्दै नक्सा पास गरेर भवन निर्माण गरेको देखिएको भन्दै सर्वोच्चले उक्त निर्माणलाई अर्को छलफल नभएसम्म रोक्न आदेश गरेको हो।
यसअघि गत वर्ष भदौ १६ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट गठन भएको प्राविधिक टोलीले नापजाँचसहित स्थलगत अध्ययन गर्दा पनि पुरातत्व विभागबाट सिफारिस भएको नक्सा बमोजिम जग नभएको देखिएको थियो। नक्सा विपरीति निर्माण गरिएको उक्त समितिको प्रतिवेदनमा भनिएपछि महानगरलाई प्रभावमा पारी भवन निर्माण अघि बढेको भन्दै सर्वोच्चमा रिट दर्ता भएको थियो।
रिटमा हाल भवन रहेको स्थानमा आदिमकालदेखि स्थानीयहरुले पूजा गर्र्दै आएको कुमारी मन्दिर समेत रहेको र त्यसको संरक्षणबिनै व्यापारिक भवन निर्माण भइरहेको जिकिर गरिएको थियो।
सर्वोच्चले काठमाडौं महानगरपालिका र पर्यटन तथा संस्कृति मन्त्रालयलाई भवन निर्माणबारे लिखित जवाफ पेश गर्न समेत आदेश गरेको छ। सर्वोच्चले मुद्दाको दोस्रो सुनुवाई नभएसम्म कुनै पनि कार्य नगर्न महर्जन बिजनेस एसोसियट्सका नाममा आदेश जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।