एजेन्सी– भारतको महाराष्ट्रमा प्रहरीले २ दिनदेखि चलाइरहेको कारबाहीमा ३७ जना माओवादी मारिएका छन्।
प्रहरीले महाराष्ट्रको जंगलमा माओवादी लडाकूलाई एम्बुसमा पारी उनीहरु विरुद्ध कारबाही सुरु गरेको अधिकारीहरुले जनाएका छन्।
महाराष्ट्र र छत्तिसगढको सीमाना गढचिरोलीमा भएको कारबाहीमा सोमबार बेलुकी पनि जिल्ला प्रहरीले कारबाही गर्दा ६ माओवादी मारिएका थिए। सोही क्षेत्रमा आइतबार पनि पुलिस कमान्डोले कारबाही गरेको थियो।
प्रहरीले कारबाहीका क्रममा बच्नका लागि इन्द्रावती खोलामा हाम फालेका र डुबेर ज्यान गुमाएका केही माओवादीको शव संकलन भइरहेको रोयर्टसलाई बताएको छ। मंगलबार दिउँसोसम्म ३४ वटा शव नदीबाट निकालिएको र यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको महराष्ट्र पुलिसका प्रहरी निरीक्षक सतिश माथुरले बताए।
गत महिना माओवादीले थापेको एम्बुसमा परी छत्तिसगढ राज्यको सुक्मा जिल्लामा ९ प्रहरी मारिएका थिए।
आइतबारदेखि प्रहरीले सुरु गरेको कारबाही मुम्बईबाट पश्चिमतर्फ करिब १ हजार किलोमिटर दूरीमा पर्छ।
भारतको पश्चिम बंगालबाट सन् १९६० देखि सुरु भएको नक्सलवादी आन्दोलन विभिन्न राज्यमा फैलिएको छ।
भारतको गृह मन्त्रालयको तथ्यांक अनुसार सन् २००९ देखि यो वर्षको मार्चसम्ममा भएका कारबाहीमा करिब ५ हजार ५ सय नक्सलवादीहरुको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।