फाइल तस्बिर काठमाडौं– विदेशमा अलपत्र श्रमिकहरुमध्ये आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने तथा रोजगारदाताले खर्च नबेहोरेका नेपाली श्रमिकहरुको सूची तयार गर्ने काम सुरु भएको छ। हालसम्म वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत स्वदेश फर्काइने २ हजार ४ सय ५० नेपालीको सूची तयार भएको काठमाडौंमा आयोजित एक कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव हरिषचन्द्र घिमिरेले बताए।
कोरोनाका कारण विदेशमा समस्यामा परी आफ्नै तथा रोजगारदाताको खर्चमा स्वदेश फर्कनेहरुलाई ल्याउने क्रम जारी रहेको उनले बताए। ‘रोजगारदाताहरुले टिकट खर्च नबेहोरेका तथा आफूसँग स्वदेश फर्कने खर्च नभएका २ हजा ४ सय ५० जना श्रमिकहरुको सूची तयार भएको छ। उहाँहरुलाई स्वदेश फर्काउने काम छिट्टै सुरु हुन्छ। स्वदेश फर्काएर पुनर्एकीकरण गर्ने काम श्रम मन्त्रालयले गर्छ,’ सहसचिव घिमिरेले भने।
कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र नेपाली कामदारको उद्धारसम्बन्धी निर्देशिकामा विदेशमा अलपत्र श्रमिकहरुको उद्धारसम्बन्धी मापदण्डको व्यवस्था गरिएको छ। श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र परेका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत स्वदेश फर्काइने व्यवस्था गरिएको छ।
त्यस्ता श्रमिकहरुलाई पनि सम्बन्धित गन्तव्य मुलुकको सरकार, रोजगारदाता, इजाजतपत्र प्राप्त संस्था वा अन्य स्रोतबाट समेत स्वदेश फिर्ताका लागि हवाई टिकट र खर्च नपाएको खण्डमा कोषको रकममार्फत उद्धार गरिनेछ। रोजगारीको प्रकृति, विदेशको आर्जन र अन्य स्रोत समेतका आधारमा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकलाई कोषको रकममार्फत स्वदेश ल्याइनेछ। त्यस्तै थुनामा परी आममाफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका श्रमिकहरुलाई पनि कोषको रकम खर्च गरी स्वदेश फर्काइने व्यवस्था गरिएको छ।
निर्देशिकाको दफा ६ ले आफ्नै खर्चमा नेपाल फर्कन नसकी अलपत्र परेका श्रमिकलाई स्वदेश फर्काउन खर्चको मापदण्डसम्बन्धी व्यवस्था गरेको छ। त्यसअनुसार एक वर्षभन्दा कम रोजगार करार अवधिमा रोजगारी गुमाएका कामदारका लागि लाग्ने हवाई टिकटको सबै रकम कोषले बेहोर्नेछ। एक वर्ष वा सोभन्दा बढी करार अवधिभित्र रोजगारी गुमाएका कामदारका लागि लाग्ने हवाई टिकट खर्चको ७५ प्रतिशत रकम कोषले बेहोरिदिनेछ भने बाँकी स्वयंले बेहोर्नु पर्नेछ ।
पुनः श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र परेका श्रमिकहरुको हकमा हवाई टिकट खर्चको ५० प्रतिशत रकममात्र कोषले बेहोर्नेछ। करार अवधिभित्र थुनामा परेर आममाफी पाई स्वदेश फिर्ती केन्द्रमा रहेका श्रमिकहरुका लागि लाग्ने हवाई टिकट बापतको सबै खर्च कोषले बेहोर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।