लन्डन– बेलायती राजकुमार विलियम र उनकी पत्नी क्याथेरिन तेस्रो सन्तानको अभिभावक बनेका छन्। राजकुमारी क्याथेरिनले सोमबार स्थानीय समयानुसार बिहान ११ः०१ मा छोरालाई जन्म दिएकी हुन्। विलियम दम्पतिका यसअघि १ छोरा र १ छोरी छन्।
उनी बेलायती राजपरिवारमा उत्तराधिकारीको सूचीमा पाचौँ नम्बरमा परेका छन्। बच्चाको जन्म लन्डनस्थित सेन्ट मेरी हस्पिटलमा भएको थियो। जन्मको समयमा राजकुमार अस्पतालमा उपस्थित थिए।

बेलायती राजपरिवारको कार्यालय किंग्सटन प्यालेसले एक विज्ञप्ति जारी गर्दै शिशुको तौल ३ किलो ८ सय ग्राम रहेको तथा क्याथेरिन र शिशु दुवैको अवस्था स्वस्थ रहेको जनाएको थियो।
किंग्सटन प्यालेसका अनुसार सो खबरको बारेमा महारानी लगायत राजपरिवारका सबै सदस्यहरुलाई जानकारी गराइएको छ।
बेलायती राजपरिवारमा नयाँ शिशु जन्मिएको खबर सुन्न तथा खुशियाली मनाउन अस्पताल तथा किंग्सटन प्यालेस अगाडि ठूलो संख्यामा मानिसहरु उपस्थिती भएका थिए।
सेन्ट मेरी अस्पतालबाट स्थानीय समयअनुसार साँझ ६ बजे विलियम दम्पती नयाँ शिशुलाई लिएर किंग्सटन प्यालेसतर्फ लागेका थिए।

रातो पहिरनमा अस्पताल बाहिर आएकी क्याथेरिनले सेतो ब्लांकेटमा बेरेर सेतो रंगकै टोपी लगाएका परिवारका नयाँ सदस्यलाई बोकेकी थिइन्। सो क्रममा निलो कोट तथा सर्ट पाइन्टमा देखिएका राजकुमार विलियम पनि साथमै थिए। उक्त समयमा दुवैले आफ्नो नयाँ सन्तान सबैलाई देखाउँदै अस्पताल अगाडि उपस्थित शुभचिन्तकसामु खुशी बाँडेका थिए।
अस्पतालबाट आफ्नो निवास जाने क्रममा विलियमले आफ्ना सन्तानहरु जर्ज(४ वर्ष) र कार्लोटी(२ वर्ष)लाई पनि साथमै लगेका थिए।

किंग्सटन प्यालेसका अनुसार बेलायती राजपरिवारमा थपिएका नयाँ शिशुको नामाकरण भने गरिसकिएको छैन।
बेलायती महारानी एलिजावेथले उपचार तथा रेखदेखमा खटिने अस्पतालका सबै कर्मचारी तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएको किंग्सटन प्यालेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बेलायती राजपरिवारमा नयाँ सदस्यको आगमनलाई लिएर बेलायती प्रधानमन्त्री थेरेसा मे, विश्वका अन्य प्रमुख नेता तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।