टोरन्टो– क्यानडाको टोरन्टोमा एक भ्यानले फुटपाथमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य १६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार व्यस्त बजारमा घटना भएकोले धेरैको संख्यामा पैदलयात्रीको मृत्यु भएको हो। दुर्घटनापश्चात् सवारी चालक भागे पनि केहि समयपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
घटना टोरन्टोको योंग स्ट्रिट र फिन्च एभेन्युकोबीचमा सोमबार स्थानीय समयानुसार दिउसो डेढ बजे भएको थियो। योंग स्ट्रिटमा एक भिडियो पसलका सञ्चालक रेजा हसेमीले सो समयमा सडकमा मानिसहरुले रोएको तथा चिच्चाएको आवाज सुनेको बताएको बिबिसीले लेखेको छ। हसेमीका अनुसार चालकले सुरुमा भ्यानलाई फुटपाथमा उकालेको र पैदलयात्रीहरुमाथि भ्यान चलाएको बताए। केहि समयपछि भने उनले फेरि भ्यानलाई सडकमा नै ल्याएको हसेमीको भनाइ छ।

घटनापछि टोरन्टो प्रहरीले सो स्थानलाई 'सिल' गरेको थियो। उक्त क्षेत्रमा चल्ने सबै मेट्रो सेवाहरु समेतलाई स्थगित गरिएको थियो।
क्यानडाको टिभी च्यानल ग्लोबल न्युजसँग कुराकानी गर्दै टोरन्टो प्रहरीका प्रवक्ता ग्यारी लान्गले भने, ‘एक सेतो भ्यान योंगबाट दक्षिण फिन्चतर्फ जाँदै गर्दा फुटपाथमा उक्लिएको थियो। घटनामा ८ देखि १० जना मानिस हताहती भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। हालसम्म यकिन संख्या स्पष्ट भइसकेको छैन।’
घटनापछि घाइतेहरुको उद्दार तथा अनुसन्धानका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

क्यनाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनाको पछिल्लो अवस्थाको बारेमा लगातार जानकारी लिइरहेको बताए। उनले भने,‘घटनामा प्रभावित हुनेप्रति हामी हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ। घटनाको बारेमा पूर्ण रुपमा जानकारी लिइरहेकोले पुरा विवरण आए लगत्तै म केहि बताउन सक्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।