काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीको विधान परिमार्जन गरी संगठन सृदृढीकरण गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सोमबार बोल्ने केन्द्रीय सदस्यले निर्वाचनको समीक्षा सम्बन्धमा नेतृत्व तहमै आरोप-प्रत्यारोप गर्दा कार्यकर्तामा थप निराशा हुने बताउँदै पार्टी सुधारका लागि अघि बढ्न सुझाव दिए।
केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ अपेक्षित सिट ल्याउन नसकेपनि लोकप्रिय मतका आधारमा कांग्रेस पहिलो पार्टी नै रहेको बताउँदै निर्वाचनमा ठूलो पराजय भयो भनेर आत्तिनुभन्दा पार्टीलाई आगामी दिनमा सशक्त बनाई अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
निर्वाचनमा दुई ठूला कम्युनिष्ट दल एक भएर चुनाव लडेका कारण कांग्रेसले प्रत्यक्षतर्फ कम सिट ल्याएपनि समानुपातिकतर्फ अपेक्षित परिणाम नै प्राप्त गरेको उनले बताए।
केन्द्रीय सदस्य विश्वकर्माले विधान परिमार्जन गरी पार्टीलाई सुदृढीकरण गर्नुपर्ने बताउँदै आगामी दिनमा काँग्रेस एक ढिक्का भई वर्तमान सरकारका गलत कदम विरुद्ध सशक्त प्रतिपक्षका रुपमा उभिनुपर्नेमा जोड दिए।
केन्द्रीय सदस्य रत्न शेरचनले वाम दलबीचको गठबन्धन, पार्टीमा भएका कमी-कमजोरी नसच्याउनु, टिकट वितरण गर्दा पार्टीमा योगदान दिएकाभन्दा आफ्ना मान्छेलाई प्राथमिकतामा राख्नु, मनोनयनको अघिल्लो दिनसम्म पनि टिकटको टुंगो नलाग्नु लगायत कारणले पार्टी पराजय भएको बताए।
आगामी दिनमा विधान परिमार्जन गरी संविधान अनुसार पार्टीको संरचना बनाउनुपर्ने सुझाव दिँदै उनले केन्द्रीय समिति बैठकमा आएका सुझावलाई आगामी दिनमा कार्यान्वयन गरी पार्टी सुधार गर्नुपर्ने बताए।
केन्द्रीय सदस्य अजयकुमार चौरसियाले कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हार व्यहोरे पनि मुलुकमा सबै ठूला राजनीतिक परिवर्तनको नेतृत्व गरेकाले पार्टीको साख राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा उच्च रहेको धारणा व्यक्त गरे।
निर्वाचनको बेला लोकतान्त्रिक शक्तिलाई कमजोर बनाउन भित्रभित्रै कम्युनिस्ट पार्टी र मधेसवादी दलबीच समेत चुनावी गठबन्धन भएको उल्लेख गर्दै उनले राष्ट्रियता, लोकतन्त्र र 8वाद जस्ता सिद्धान्त लिएर स्थापना भएकाले कांग्रेसले नै मुलुकमा लोकतन्त्र संस्थागत गर्ने बताए।
केन्द्रीय सदस्य चौरसियाले कांग्रेसको नेतृत्वमा भएका राम्रा काम जनतासमक्ष पुर्यासउन नसक्नु पार्टीको कमजोरी भएको उल्लेख गर्दै पार्टीभित्रको अन्तर्घात पनि पराजयको कारण भएको बताए।
अर्का केन्द्रीय सदस्य सुजाता परियारले पार्टीमा सामूहिक नेतृत्वको अभ्यास भएकाले पार्टीका क्रियाकलाप र निर्वाचनको परिणामबारे जस-अपजस सिंगो पार्टीले लिनुपर्ने बताउँदै चुनावको बेला टिकट वितरण गर्दा कुनै प्रतिक्रिया नजनाउने नेताहरुले निर्वाचन परिणामपछि पार्टी सभापतिमाथि मात्रै दोष थोपार्नुको कुनै अर्थ नभएको टिप्पणी गरे।
पार्टीले प्रत्यक्षतर्फ पराजित व्यहोरे पनि समानुपातिक निर्वाचनतर्फ कम मत नआएको उल्लेख गर्दै कांग्रेसले आफू चुनावमा हारेर भए पनि संविधान कार्यान्वयनका लागि सबै प्रकारका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर इतिहास रचेको बताए।
नेतृत्वमा आरोप-प्रत्यारोप हुँदा कार्यकर्तामा निराशा हुने बताउँदै केन्द्रीय सदस्य परियारले पार्टीको विधानलाई समय सापेक्ष परिमार्जन गरी नयाँ संरचना अनुसार सुदृढीरणको आवश्यकता औँल्याए।
बैठकमा केन्द्रीय सदस्यहरु चित्रलेखा यादव, चन्द्र भण्डारी, कमला पन्त, अम्बिका बस्नेत, किरण यादव, ध्यानगोविन्द रञ्जित र आमन्त्रित सदस्य आनन्द (गोरख) विष्टले निर्वाचन समीक्षाका सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए।
समीक्षा सम्बन्धी बैठक निरन्तर जारी छ। बैठक मंगलबार बिहान साढे ८ बजे पुनः बस्नेछ।
– भीष्मराज ओझा / रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।