सिओल– दुई कोरियाका प्रमुखबीच आगामी शुक्रबार हुने भनिएको शिखर वर्तालाई ध्यानमा राख्दै दक्षिण कोरियाले उत्तर कोरियाली सिमा क्षेत्रमा राखिएका ‘लाउडस्पिकर’(ध्वनी यन्त्र)हरु बन्द गराएको छ। उत्तर कोरियासम्बन्धी आलोचनात्मक टिप्पणी, सुचना तथा संगीत बजाइने दर्जनौँको संख्यामा रहेका त्यस्ता स्पिकरहरुलाई बन्द गराइएको हो।
स्पिकरहरुबाट प्रशारण गरिएका त्यस्ता सूचना तथा टिप्पणीलाई सिमाक्षेत्रमा रहेका उत्तर कोरियाली सैनिक टुकुडी तथा स्थानीय क्षेत्रमा सहजै सुन्न सकिन्थ्यो।

दक्षिणले जस्तै उत्तर कोरियाले पनि आफ्ना क्षेत्रमा ठूलो आकारका लाउडस्पिकरहरु राखेको छ। तर दक्षिणले स्पिकर बन्द गराएपछि उत्तरले पनि त्यस्ता स्पिकरहरु बन्द गराउने सम्बन्धमा केहि खुलाइएको छैन। उत्तरले सिओल र उसका अन्य सहयोगी शक्ति राष्ट्रसँग सम्बन्धित आलोचनात्मक रिपोर्टहरु बजाउने गर्दथ्यो।
दक्षिण र उत्तर कोरियाबीचको सैन्य तनाब कम गर्दै शान्तिपूर्ण शिखर वार्ताका लागि वातावरण बनाउन स्पिकरहरु बजाउन बन्द गराइएको दक्षिणको राष्ट्रिय रक्षा मन्त्रालयलाई उदृत गर्दै योनहाप समाचार संस्थाले लेखेको छ।
सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धदेखि नै दक्षिणले त्यस्ता ध्वनी यन्त्रहरु प्रयोगमा ल्याएको थियो। युद्धका दौरानमा उत्तर कोरियाली सैनिकलाई भ्रम छर्न दक्षिणले स्पिकरहरुको प्रयोग गर्ने गर्थ्याे। दुवै देशबीचमा समझदारी बनेपछि सन् २००४ बाट त्यस्ता सामाग्री बजाउन बन्द गरिएको थियो।

तर सन् २०१५ मा सिमा क्षेत्रमा उत्तर कोरियाले विच्छाएको धरापमा परी दुई जना दक्षिण कोरियाली सैनिक घाइते भएपछि पुनः सो कार्य सुरु भएको थियो। सो समयमा सुरु भएको केहि समयमै पुनः दक्षिण कोरियाले आलोचनात्मक सामाग्री बजाउन बन्द गराए पनि सन् २०१६ मा उत्तर कोरियाले हाइड्रोजन बमको परिक्षण गरेपछि दक्षिणले फेरि स्पिकर बजाउने कार्यलाई निरन्तरता दिएको थियो।
उत्तर कोरियाली प्रमुख किम जोङ उनले केहि दिनअघि मात्रै सम्पूर्ण आणविक कार्यक्रम तथा मिसाइल परिक्षण बन्द गर्ने घोषणा गरिसकेका छन्। योसँगै आगामि अप्रिल २७ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनसँग सिमा क्षेत्र पानमुनजोममा शिखर बैठकको तय भएको छ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि उत्तर नेता किमले आगामी जुनको सुरुवातमै भेटवार्ता गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।