काठमाडौं- वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने श्रमिकहरुको संख्या बढेको छ। साउन १ गतेदेखि १९ गतेसम्म १९ दिनमा २ हजार ३ सय ५८ ले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएका छन्।
पुनः श्रम स्वीकृति लिनेमा २ हजार २ सय ४४ पुरुष र १ सय १४ महिला रहेको वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले जनाएको छ।
बिदामा आएर लकडाउनका कारण अड्किएका ९ सय २ जनाले युएईका लागि पुनः श्रम स्वीकृति लिएका छन्। कतारका लागि ६ सय ३७ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
मलेसियाका लागि २ सय ९२, कुवेतका लागि ९० र बहराइनका लागि ३९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
त्यस्तै जापान, ओमान, साउदी अरब, चीन, इजिप्ट, जोर्डन, माल्दिभ्सलगायत मुलुकमा रोजगारीमा जानका लागि पुनः श्रम स्वीकृति लिएका छन्।
सोमबार विदेश जान ३६ पुरुष र ६ महिला गरी ४२ जनाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ। वैदेशिक रोजगारीमा जानका लागि नयाँ श्रम स्वीकृति भने खुल्ला गरिएको छैन। बिदामा आएका तथा भिसा अवधि बाँकी रहेकाहरु पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गइरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।