सिओल– दक्षिण कोरिया र उत्तर कोरियाका शिर्ष नेताहरुको शिखर सम्मेलनको तयारीका लागि दुवै देशका उच्च अधिकारीको बैठक बस्ने भएको छ।
झण्डै ४ दिनपछि हुने शिखर सम्मेलनको तयारीलाई अन्तिम रुप दिन दुवै देशका उच्चअधिकारीको बैठक आज बस्न लागेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ।
कार्यकारी भूमिकामा रहेका उच्चअधिकारी तहको आज हुने बैठक तेस्रो हुनेछ। यसअघि दुई ओटा बैठकबाट उनीहरुले शिखर बैठकको लागि धेरै निर्णय र कामहरु गरिसकेका छन्।
आजको बैठकमा शिखर वार्ताको सुरक्षा व्यवस्था, मर्यादाक्रम र मिडिया व्यवस्थापनलगायतका विषयमा निर्णय हुने ब्लु हाउसले जनाएको छ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन र उत्तर कोरियाका नेता किम जोङ उनबीच यही अप्रिल २७ तारिखका दिन औपचारिक भेटवार्ता गर्ने तयारी भएको छ।
शिखर सम्मेलन उत्तर कोरियासँगको सीमा क्षेत्रमा पर्ने दक्षिण कोरियाको पान्मुन्जोम भन्ने ठाँउमा रहेको पिस होममा गर्ने यसअघि नै तय भइसकेको छ।
विगत लामो समय एक आपसमा तितो सम्बन्ध रहेका दुई कोरियाका शिर्ष नेताहरुको शिखर सम्मेलनलाई संसारभरी नै महत्वका साथ हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।