जेरूसेलम– प्यालेष्टिनी हमास समूहले दावी गरे अनुसार इजरायलको एक जासुसी निकायले प्यालेष्टिनी वैज्ञानिकको मलेसियामा हत्या गरेको भन्ने भनाइमा कुनै सत्यता नभएको इजरायली रक्षामन्त्री अभिगडोर लिबरम्यानले आइतबार प्रष्ट पारेका छन्।
हमासका नेता एवम् एक प्यालेष्टिनी अनुसन्धानकर्ता तथा प्राध्यापक फादी मोहम्मद अल–बत्सलाई मोटरसाइकलमा आएका अज्ञात बन्दूकधारीले शनिबार क्वालालम्पुरमा गोली हानी हत्या गरिएको थियो।
गाजा क्षेत्रमा सक्रिय प्यालेष्टिनी इश्लामिक संगठन हमासले अल–बत्सलाई आफ्नो सदस्यका रूपमा दावी गर्दै उनको हत्यामा इजरायलको हात रहेको हमास नेता इश्माइल हनियले दावी गरेका थिए।
इजरायली जासुसी निकाय मोसादले प्यालेष्टिनी वैज्ञानिक अल–बत्सलाई विगतमा पनि हत्या गर्ने प्रयास गरेको आरोप हमासको छ।
तर लिबरम्यानले अल–बत्सलाई प्यालेष्टिनीहरूबीचको आन्तरिक कलहका कारण मारिएको हुनसक्ने बताएका छन्। लिबरम्यानले इजरायली रेडियोसँगको संवादमा भने, ‘हामीले समाचारमा अल–बत्सको मृत्यु भयो भन्ने खबर सुन्यौ। प्यालेष्टिनी आतङ्कवादी संगठनले हरेक हत्यामा इजरायलमाथि दोष लगाउने गर्छ। यस खालका आरोप सहन हामी बानी परिसकेका छौँ।’
मलेसियाली उपप्रधानमन्त्री अहमद जहिद हमिदीले शनिबार वैज्ञानिक अल–बत्सको हत्यामा कुनै विदेशी गुप्तचर निकायको सम्लग्नता रहेको वा प्यालेष्टिनीप्रति शत्रुता राख्ने कुनै समूहको सम्लग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरेका थिए। उनले यसमा इन्टरपोलको सहयोग लिई मलेसियाको प्रहरीले अनुसन्धानलाई अघि बढाउनेसमेत उनले प्रष्ट पारेका थिए।
मलेसियाको प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।