काठमाडौं– प्रचारित गरिएजस्तो वैशाख ९ अर्थात् आजैको दिन पार्टी एकता नहुने भएपछि एकताको प्रस्ट आधार प्रस्तुत गर्न नेकपा एमाले र माओवादी केन्द्रले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवसमा संयुक्त कार्यक्रम आयोजना गरे। तर, एकताको आधार भने प्रस्तुत गर्न सकेनन्। खासमा विवादमा रहेको भनिएको विषयलाई छिचोल्न भइरहेको प्रयासबारे उनीहरुले कार्यकर्तालाई कुनै विश्वसनीय आधार दिन सकेनन्।
कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ३४ मिनेट बोलेका थिए भने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मिनेट बोलेका थिए। एकताबाट फर्किने ठाउँ नभएको, एकताको विकल्प नभएको तथा विकास र समृद्धिका लागि एकता अपरिहार्य रहेको भन्नेमै उनीहरुको भाषण केन्द्रित थियो।
ब्यानरमा विवाद
एकता संयोजन समितिको आयोजनामा भएको कार्यक्रममा एमालेका तर्फबाट ब्यानर राखिएको थियो। ब्यानरमा एमाले अध्यक्ष ओलीको फोटो केही ठूलो र माओवादी अध्यक्ष दाहालको फोटो केही सानो थियो। आयोजकमा राखिएको दुई पार्टीको नाममा अगाडिपट्टि एमालेको नाम थियो। सबैभन्दा रोचक कुरा थियो– ब्यानरमा राखिएको मार्गदर्शक व्यक्तित्वहरुका फोटा।
कम्युनिस्ट पार्टीको कार्यक्रममा ब्यानरको माथिल्लो कुनामा मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओका फोटा हुने गर्छन्। तर, लेनिनकै जन्म जयन्तीलाई आधारित बनाएर गरिएको कार्यक्रममा लेनिनको फोटो भने कतै थिएन। बरु नेपाल कम्युनिस्ट आन्दोलनका एक मुख्य नेता पुष्पलालका साथै एमालेका दुई प्रमुख नेताहरु मनमोहन अधिकारी र मदन भन्डारीको फोटो थियो। माओवादीका युवा कार्यकर्ता तथा विद्यार्थी नेतालाई आक्रोशित बनाउन कारण पुगिहाल्यो। उनीहरुले नाराबाजी गरे। लेनिनको फोटो चाहियो, माओको फोटो चाहियो भन्न थाले।
'हाम्रा नेताहरु कति धेरै ठूला भएका, कति धेरै महत्त्वाकांक्षी भएका', एकजना विद्यार्थीले नेपाल लाइभसँग आक्रोश पोखे, 'एकताको टुंगो गर्न नसक्ने नेताहरुले आफूहरुलाई मार्क्स र लेनिनभन्दा ठूलो ठान्न पाउँछन्?'
उनको जस्तै तर्क अरुको पनि थियो। विरोध चर्को भएपछि मञ्चमा राखिएको ब्यानर झिकियो।
यी सबै भइरहँदा झन्डै १ बजिसकेको थियो। एमालेले निम्तो गरेको १२ बजेको समय र माओवादीले प्रचारित गरेको १ बजेको समय नजिक पुग्दैगर्दा दुवै पार्टीका शीर्ष नेताहरु कार्यक्रम स्थल राष्ट्रियसभा गृह प्रवेश गरिसकेका थिए। उनीहरु भिआइपी कोठामा बसेर वार्ता गर्न थाले।
समय बित्दै गएपछि मञ्चमा कसैले गायक बद्री पंगेनीलाई लिएर गयो। उनले गीत गाएर उपस्थितलाई भुलाउने प्रयास गरे। र, पुरानो भाकामा गीत गाएर सचेत बनाए– 'प्रचण्ड र ओली, नबिर्स है त्यो बोली।' केही राष्ट्रवादी भाव झल्कने गीत गाएर उनी पनि हिँडे।
यता, मञ्चमा साना नेताहरुको दौडधुप चलिरहेको थियो। उता, सहमतिको प्रयास पनि भइरहेको थियो। माओवादीको तर्फबाट छुट्टै ब्यानर राख्ने सहमति भएपछि ३ घन्टादेखि रोकिएको कार्यक्रम सुरु हुने सम्भावना बढेको थियो।
यसैबीच, एमाले नेता कृष्णगोपाल श्रेष्ठ मार्क्स र लेनिनको फोटो बोकेर मञ्चमा देखापरे। उनले दुवै नेताको फ्रेमवाला फोटो ल्याएर मञ्चको अघिल्तिर कुर्सीमा बडो जतनले अड्याए। दुई फोटोमध्ये मार्क्सको फोटो केही सानो थियो। तर यस्ता कुरामा कसैले चासो लिएन।
एकछिनपछि माओवादीका तर्फबाट नयाँ ब्यानर आइपुग्यो। नयाँ ब्यानरमा ठूलो अक्षरमा 'नेपाल कम्युनिस्ट पार्टी : ६९ औं स्थापना दिवस' लेखिएको थियो भने माथिल्लो दाहिँने कुनामा पाँचजना नेताको फोटो थियो। र, पुरानो ब्यानरमा राखिएको एमालेपछिको आफ्नो नामलाई नयाँमा अगाडि ल्याएको थियो।
नयाँ ब्यानर कुनातिर टाँगियो। तर, केहीबेरमा नयाँ ब्यानरको डोरी चुँडियो। निकालिसकिएको भर्याङ फेरि ठड्याइयो र ब्यानर पुनः टाँगियो। तर, केहीबेर माओको फोटो नदेख्दा रिसाएका माओवादीका कार्यकर्ता अहिले भने माओ खोज्नतिर लागेनन्। कुर्सीमा बसेका मार्क्स र लेनिन हेरेरै चित्त बुझाए।
'अब पनि विवाद झिकियो भने कार्यक्रम नै हुँदैन', बाहिरभित्र गरिरहेका एकजना युवाले आफ्नो साथीलाई सुनाए, 'अब त कार्यक्रम सुरु गरे हुन्थ्यो।'
दुवै पार्टीका अध्यक्षले सम्बोधन गर्ने उक्त कार्यक्रम तोकिएको समयभन्दा झन्डै ४ घन्टा ढिलो सुरु भयो।
प्रचण्डको प्रयत्न
प्रचण्डले मुख्यगरी एकताको विकल्प नभएको विचार व्यक्त गरे। एकताको विकल्प छैन, हामी एकतातर्फ अगाडि बढिसकेका छौं, विवादित भनिएको विषयमा छिटो सहमति गरेर एकता गर्नुपर्ने जस्ता विषयमा उनी केन्द्रित भए। जनताको विकास र समृद्धिको चाहना पूरा गर्न दुई पार्टी एक हुनै पर्ने धारणा व्यक्त गरे। उनले केही विषय मिल्न बाँकी रहेकाले त्यसलाई मिलाएर एकता हुने बताए। ऐतिहासिकदेखि भविष्यसम्मको प्रभावको हिसाबको एकताको आवश्यकता बोध गराउन खोजे।
सुरुवातमा वाम तालमेल मात्रै गरेर जाने कि भनेर कुरा सुरु भएको तर तालमेलले मात्रै राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न नसकिने, कम्युनिस्ट आन्दोलनको भविष्यलाई सुनिश्चित गर्न नसकिने र राष्ट्रको एकतालाई सुदृढ गर्न नसकिने बुझेर एकतातर्फ अघि बढेको उनले बताए।
'केपीजी र मैले हस्ताक्षर गरेर पार्टी एकता गर्ने भनेका छौं', प्रचण्डले भने, 'अब मैले र केपीजीले दायाँबायाँ गर्यौं भने जनताले छुट दिनेवाला छैनन्। कोही कम्युनिस्टले छुट दिने अवस्था छैन।'
प्रचण्डले पार्टी एकताको प्रक्रिया बिग्रन नखोजेकोमा पनि आश्वस्त बनाउन खोजे। तर विषयवस्तु अझै नमिलिसकेको भने उनले संकेत दिए। एकताको नाममा सबैचिज छाडेर एकता गर्न तयार नभएको र आज हुने भनिएको एकता हुन नसक्नुमा पनि त्यस्तै कारणले भूमिका खेलेको उनको भाषणको अर्थ लाग्न सक्थ्यो। 'एकतालाई हतारमा होइन, परिपक्व ढंगले अघि बढाउनेमा हाम्रो ध्यान छ', उनले भने। परिपक्व भइसकेका र हुनुपर्ने विषय केके हुन्, प्रचण्ड त्यतातिर जान चाहेनन्।
उनले हल्ला गरेर होइन, अकस्मात एकता हुनसक्ने बताए। गत असोज १७ मा जसरी आकस्मिक वाम तालमेलको घोषणा गरिएको थियो, त्यसैगरी एकता हुनसक्ने उनले बताए। 'अब हल्ला भएको दिन होइन, थाहा नभएको दिन ड्याम्मै पार्टी एकता हुन्छ।'
ओलीको बोली
केपी शर्मा ओलीले आफ्नो भाषणको सुरुवातदेखि नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास खोतले। कम्युनिस्ट पार्टीमाथि लगाइएको बन्देजदेखि संविधान कार्यान्वयनमा कम्युनिस्ट पार्टीले देखाएको सक्रियताको चर्चा गरे। विभिन्न कम्युनिस्ट नेताको भूमिकालाई सम्झिने प्रयास गरे। करिब ४५ मिनेटजति उनले इतिहासमा कम्युनिस्ट पार्टीको भूमिकालाई नै चर्चा गरे।
त्यसपछि एकताको विषयमा प्रवेश गरेका ओलीले पनि एकताको विकल्प नभएको बताए। एकता अनिवार्य रहेको तर्क गरे। 'हामीले अरु कसैलाई दोष लगाउने, कसैको टाउकोमा जिम्मेवारी हालेर उम्किने ठाउँ छैन', उनले भने, 'हामीले अब एकतालाई सफल पार्नेबाहेक अरु बाटो छैन।'
'हामी त्यो ठाउँमा पुगिसक्यौं, अब त मेरो जुत्ता मिलेन त्यसकारण लाउँदिन भन्ने ठाउँ छैन। अब त जुत्ता मिलेन भने खुट्टा तासतुस पारेर भए पनि मिलाउनुपर्छ। हामीले यो भएन र त्यो भएन भन्ने ठाउँ नै छैन', ओलीले भने।
उनले दुई वाम पार्टी ऐतिहासिक आवश्यकताको आधारमै एकता गर्न लागेको उल्लेख गरे। दुईवटै छिमेकीसँग पारस्पारिक लाभ र सहसम्बन्धको आधारमा सम्बन्ध बनाउने, सामाजिक सद्भाव र त्यसमा आधारित राष्ट्रिय हितको विषयमा पनि आफूहरुको एकता भएको ओलीले बताए। 'यत्तिकै हामी एकजुट भयौं भनेको होइन', उनले भने, 'यो मेलामा लगाएको मित होइन।'
उनले नीतिगत सहमतिहरु भएको, देशमा स्थिरता र शान्ति चाहिन्छ भन्ने कुरामा स्पष्ट र प्रतिबद्ध भएको र त्यसमा पनि एकता भएको उल्लेख गरे। उनले प्रश्न गरे– 'अब एकता हुन रोक्नुपर्ने कुनै कुरा छ?' उनले पनि निकट भविष्यमा एकता हुने आश्वस्त पार्न खोजे।
कसरी हुँदैछ एकता?
माओवादी अध्यक्ष प्रचण्डले बराबरीको हैसियतमा एकता हुनेबारे छलफल भइरहेको तर सहमति भने हुन नसकेको बुझिने दुईअर्थी वाक्यहरु बोले। उनले शनिबार भएको दुई अध्यक्षको छलफलबाट एकताको केही मोडालिटी खोजेको बताए। त्यसमा पनि उनले संगठनात्मक पाटोमात्रै बताउन खोजे। 'हामीले सम्मानजनक ढंगले एकता गर्नुपर्छ, कसैले कसैलाई 'ह्युमिलिएट' गर्ने, अपमानित गर्ने र विभेद गर्ने हुन सक्दैन, समानताको सिद्धान्तलाई पनि हामीले अंगिकार गर्नुपर्ने हुन्छ र तेस्रो न्यायोचित हिसाबले पनि हामीले एकता गर्नुपर्ने हुन्छ', प्रचण्डले भने।
ओलीले प्रचण्डले भनेका शब्दहरुलाई दोहोर्याए। तर, सहमति भइसकेको विषयलाई ओलीले पुष्टि गरेनन्। 'प्रचण्डजीले भन्नुभयो– असमानता, विभेद र अपमानको बीचमा एकता हुँदैन', ओलीले अमूर्त तर्क राखे, 'सम्मान, समानताकै आधारमा एकता हुने हो।'
एकता प्रक्रियामा पछिल्लो समय केही विषयले अवरोध ल्याइरहेको चर्चा दुवै पार्टीका नेताहरुले बताउने गरेका छन्। मुख्यगरी माओवादी जनयुद्ध, चुनाव चिह्न, संगठनमा सहभागिताको अनुपात र एकता महाधिवेशनबाट प्रचण्डलाई अध्यक्ष पदको सुनिश्चिता जस्ता विषयमा एमाले र माओवादीबीच कुरा मिलिसकेको छैन। तर, यस्ता विषयमा कस्ता प्रयास भइरहेका छन्? यसै विषयले ९ गते हुने भनिएको एकता प्रक्रिया रोकिएको हो भने अब त्यसले कसरी निकास पाउँछ र एकताको नयाँ मिति कुन हुन सक्छ भन्ने विषयमा दुवै अध्यक्षले संकेतसम्म गरेनन्। एकताको आधार प्रस्तुत गर्ने अपेक्षा गरिएको कार्यक्रममा आवश्यकता मात्रै प्रस्तुत गरियो। जुन असोज १७ देखियता आम नेता र कार्यकर्ताले दोहोर्याएका दोहोर्यायै छन्। त्यसैले आजको कार्यक्रमको विशिष्टता के थियो भन्ने नै प्रष्ट गर्न सकेनन्।
ओलीले आफूलाई विकास र समृद्धिको वाहकको रुपमा उभ्याउन खोजे। र एकता प्रक्रियालाई पनि त्यसैसँग जोड्न खोजे। जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न एकता आवश्यक रहेको उनले बताए। आन्तरिक छलफलमा भइरहेका प्रगतिलाई भन्दा पनि विकास र समृद्धिसँग एकताको संगति मिलाउन खोजे। उनले समृद्धि अभियान सुरु गर्नका लागि दुई पार्टी एकताको साइत पर्खिएको छनक दिन खोजे।
मुख्यतः दुवै नेताले देशको अहिलेको अवस्थाबाट माथि उठाउन र जनताको चाहनाहरु पूरा गर्न एकता आवश्यकता रहेको बताए।
एकता आवश्यकता छ भन्ने कुरा उपस्थित कार्यकर्ताका लागि नयाँ विषय होइन। तिनीहरुको मुख्य चासो पनि होइन। अब एमाले र माओवादी बीच एकता हुनुपर्ने कुरामा कुनै नयाँपन छैन। कार्यकर्ताहरुले एकताको 'ग्लु'हरु कसरी खोजिँदै छ भन्नेमा चासो राखेका थिए। त्यसमा कति प्रगति भएको छ? र, एकताको बिन्दु कति नजिक छ भन्ने चाहना थियो। जसलाई चित्तबुझ्दो जवाफ दुवै नेताले दिन सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।