काठमाडौं- कार्यस्थलमा उपस्थित नहुने श्रमिकले जेठ महिनामा तलबको एक चौथाइमात्रै पाउने भएका छन्। निजी क्षेत्रका छाता संगठन र मजदूर संगठनबीच भएको सहमतिअनुसार लकडाउनका कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई २५ प्रतिशतमात्रै तलब दिने सहमति भएको हो।
सहमतिअनुसार श्रमिकले चैतको भने पूरा तलब पाउनेछन्।
'श्रमिकको पारिश्रमिकबारे नेपाल सरकारको निर्णयको सन्दर्भमा २०७७ वैशाख महिनाका लागि श्रमिकको ५० प्रतिशत पारिश्रमिक भुक्तानी गरी फरफारक गर्ने र २०७७ जेठ महिनाको हकमा लकडाउनको कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पाउने पारिश्रमिकको ५० प्रतिशतमात्र भुक्तानी गर्ने,' दुई पक्षीय सहमितमा भनिएको छ। यसअनुसार काममा जानेले तलबको ५० प्रतिशत पाउनेछन् भने काममा नजानेले त्यसको आधा मात्रै पाउने भएका छन्।
दुईपक्षबीच भएको ७ बुँदे सहमतिअनुसार उद्योग व्यवसायको क्षेत्रमा प्रकृति फरक-फरक हुने भएकाले व्यवसायको प्रकृति र अवस्थाअनुसार उद्योग प्रतिष्ठानको सहज सञ्चालन, लकडाउन अवधिको पारिश्रमकि भुक्तानी र श्रमिकहरूलाई आलोपालो गरी काममा लगाउनेलगायतका विषयमा सम्बन्धित वस्तुगत संघ तथा सो क्षेत्रसँग सम्बन्धित उद्योग/प्रतिष्ठानका रोजगारदाता र प्रतिष्ठानस्तरका ट्रेड युनियनले आपसी छलफल गरी सहमति गर्न सक्ने पनि उल्लेख छ।
यसैगरी लकडाउन अन्त्य भई उद्योग व्यवसाय सञ्चालन हुन थालेकाले काममा आउने श्रमिकलाई पारिश्रमिक भुक्तानी गर्ने तर आंशिकरूपमा उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने भई केही श्रमिकलाई मात्र काममा लगाउन सकिने अवस्था भएमा सबै श्रमिक कर्मचारीको रोजगारी सुनिश्चितताका लागि उद्योग प्रतिष्ठानले आलोपालो काममा लगाउने पनि सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।