काठमाडौं- गत जेठ २६ गते राति रुपन्देहीको तिलोत्तमा नगरपालिका- १० मैनहवास्थित गंगादेवी पशु फार्ममा ५ जनाको विभत्स हत्या भयो। कृष्णबहादुर पुन मगरले सञ्चालन गरेको उक्त फार्मका कामदार माधव मुसहर, उनकी श्रीमती जानकी मुसहर, कृष्णबहादुरकै घरमा बस्दै आएका पोखराज मुसहर र उनका दुई साथीहरु आषिश थारु र करण चौधरीको हत्या भएको थियो।
२६ गते राति घटना भए पनि २७ गते बिहानमात्रै उक्त हत्या घटना सार्वजनिक भयो। ‘पाँच जनाको लाश वरपर रगत, रगत लागेको फरूवा, वान्ता, नजिकै किंग फिसर लेखेको रक्सीको खाली बोतल, घटनास्थलबाट २ फिट पश्चिममा म्याजिक चप्पल, चप्पल नजिकै सिमसहितको मोबाइल’ प्रहरीले घटनास्थल मुचुल्कामा उल्लेख गर्यो।
जानकी मुसहरको बायाँतर्फ निधारको भागमा काटिएको, घाँटीदेखि माथि टाउकोमा हड्डी समेत देखिने चोट रहेको, आशिष थारुको घाँटीको दायाँतर्फ चोट, घाँटीको अगाडि निलो डाम, दायाँ कानमाथि चोट, दायाँ आँखामाथि गहिरो चोट, दायाँ गालामा चोट।
करण चौधरीको दायाँ कानमा चोट, घाँटीमा गहिरो चोट, दायाँ आँखा निलो भएको, बायाँ कानमाथि टाउकोमा छाला खुइलिएको। पोखराज मुसहरको बायाँ आँखामाथि चोट, बायाँ कानमाथि काटिएको गहिरो चोट, दायाँ आँखााथि चोट। माधव मुसहरको घाँटीको पछाडि हड्डी समेत फुटेको चोट, पछाडि ढाडको दायाँतर्फ खोस्रिएको चोट, बायाँ कानको बीचमा चोट, निधारको दायातर्फको केही भाग उठी च्याप्टो देखिएको व्यहोरासहितको लाशजाँच प्रकृति मुचुल्का जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उठायो।
यसरी जताततै शरीरभरी चोटैचोट लगाएर पाँच जनालाई हत्या गरेको आरोपमा सोही फार्ममा काम गर्ने सुर्खेतको लकेबेशी नगरपालिका- ५ का ३२ वर्षीय झसेन्द्रबहादुर सिंजालीलाई प्रहरीले सोही बेला पक्राउ गरेको थियो।
कर्तव्य ज्यानको आरोपमा जिल्ला अदालत रुपन्देहीले सिंजालीलाई पुर्पक्षका लागि जेल चलान गरेको छ। उनै सिंजालीले पाँच जनाको हत्या किन र कसरी गरेँ भन्ने विषयमा बयानमा खुलाएका छन्।
बेइज्जती खप्न सकिन : सिंजाली
म करिब ४/५ महिना अगाडि कामको खोजीमा बुटवल आएको थिएँ। मिति २०७७ साल वैशाख १६ गतेदेखि जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका- १० मैनहवास्थित कृष्णबहादुर पुन मगरको गंगादेवी पशु फार्ममा काम गर्दै आएको थिएँ। उक्त फार्ममा मसँगै माधव मुसहर, जानकी मुसहर र पोखराज मुसहर समेतले काम गर्ने गर्दथे। पोखराज मुसहरका साथीहरु करण चौधरी र आशिष थारु पनि प्रायजसो फार्ममा आउने, सँगै खाने तथा त्यहीँ सुत्ने गर्दथे।
मैले गाई, भैंसीलाई रताउने हिसाबले जुम्रा टिपिदिने, कन्याइदिने गर्थें। तर उनीहरुले मेरो श्रीमती साथमा नभएको कारण यसले गाई, भैंसीलाई करणी गर्छ भन्ने आरोप लगाए। यो कुरा साहु तथा गाउँघरमा समेत हल्ला गरी मेरो बेइज्जत गरेकाले मलाई रिस उठिराखेको थियो।

त्यसपछि घटनाको करिब ३/४ दिन अगाडिदेखि यिनीहरुले मेरो बेइज्जत गर्न छाड्दैनन्। लकडाउन भएकोले घर जान पनि सकिँदैन। यिनीहरुले जहिले रक्सी र गाँजा खाएर पार्टी गर्छन्, त्यही दिन यिनीहरुलाई मार्छु र म पनि मर्छु भन्ने योजना बनाएँ। सोही योजनाअनुसार ३ प्याकेट मुसाको विष किनेर पनि ल्याएँ‚ र लुकाएर राखेँ।
जेठ २६ गते साँझ फार्मको सबै काम सकेर अन्दाजी राति ९ बजेतिर म साहुको घरमा गई खाना खाँए। फार्ममा फर्किने क्रममा रक्सी किनेर ल्याएको थिएँ। फार्ममा गएपछि म खाटमा बसी रक्सी पिउन थालेँ। आशिष थारु, करण चौधरी र माधव मुसहरले भुईँमा बसी रक्सी पिउन थाले। पोखराज मुसहर भने मोबाइल चलाउँदै बसेका थिए।
करण चौधरी र आशिष थारुले एउटै गिलासमा रक्सी पिउँदै मसँग चुरोट मागेर गाँजा समेत भरेर खाए। खाँदै जाने क्रममा मध्यरात भइसकेको थियो। समय यकीन थाहा भएन। उनीहरुले मलाई आफ्नै भाषामा जिस्क्याउन थाले। माधव मुसहरले मलाई यो पहाडियालाई काममा लदाउने, साहुलाई कुरा लगाएर पैसा पनि नदिने कुरा गरी कोदालोको बिँडले मलाई हान्न लाग्यो।
मैले त्यो बिँड खोसेर उल्टै माधव मुसहरको टाउकोमा हानें। उनी भुईंमा लडे। त्यसपछि करण चौधरी मलाई हान्न आएका थिए। उनलाई लात्ताले र लौराले हानेर भुईँमा लडाइदिएँ। त्यसपछि आशिष थारु र पोखराज मुसहरलाई पनि क्रमैसँग लौराले टाउकोमा हानेर लडाएँ।
त्यही बेला जानकी मुसहर कराउँदै हातमा हँसिया लिएर आई र एक्कासी मलाई आक्रमण गरिन्। मैले छेक्न खोज्दा मेरो दाहिने हातको हत्केलामा काटिन पुग्यो। त्यसपछि मैले पनि रीसको आवेगमा कोदालोको बिँडले पछाडिबाट उनको टाउकोमा हानेर भुईँमा ढाल्दिएँ।
सबै जना भुईँमा लडिरहेका थिए। कोही बेहोस, कोही छट्पटाएका र कोही कराइरहेका थिए। अब जसरी पनि जेल जानैपर्ने भयो किन बाँकी राख्ने भन्ने सोचेँ। नजिकै रहेको फरुवाले पालैपालो सबैलाई टाउको, घाँटीलगायतको भागमा हानी काटेर कर्तव्य गरी मारेको हुँ।
पाँचै जनालाई मारेपछि आफू पनि मर्न भनेर मैले आफ्नो पर्समा राखेको मुसाको विष (धुलो) र रक्सी समेत खाएको थिएँ। एक दुई पटक भोमिट पनि गरेको थिएँ। त्यसपछि बेहोस भएछु केही थाहा पाइनँ। पछि उपचारको लागि प्रहरीको गाडीमा अस्पताल लैजाँदै गर्दा होसमा आएको हुँ। जेठ २७ गते क्रिमसन अस्पताल मणिग्राम र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराई मिति जेठ २८ गते डिस्चार्ज भएँ।
सिंजालीले बयानमा भनेजस्तै शव परीक्षण रिपोर्टमा पनि उनीहरुको मृत्युको कारण कुटपिटबाटै भएको देखिएको थियो। करण चौधरीको श्वास नलीमा चोट लागेकोले मृत्यु भएको, माधव, पोखराज र आशिषको टाउकोको हड्डी भाँचिई दिमागभित्र रगत जम्न गई मृत्यु भएको, जानकीको दिमागमा रगत जमेको हुनाले मृत्यु भएको हुनसक्ने शव परिक्षण रिपोर्टमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।