प्रतीकात्मक तस्बीर काठमाडौं- कोरोना भाइरसका कारण विदेशमा समस्या परेका नेपाली युवाहरुले स्वदेश फर्किएर उद्यम गर्ने पुँजी नभएको बताएका छन्। नेपाल पोलिसी इन्स्टिच्युटले माइग्रेसन ल्याबसँगको सहकार्यमा खाडीका ८ मुलुकसहित मलेसिया र भारतमा कार्यरत ६ सय २५ कामदारबीच गरेको सर्वेक्षणमा ८० प्रतिशत युवाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
८० प्रतिशत युवाहरुले स्वदेश फर्किएर कृषि तथा गैरकृषि क्षेत्रमा स्वरोजगार हुने इच्छा व्यक्त गरेका छन्। विदेशमा कमाएको धेरै पैसा महिनै पिच्छे घर खर्चमा सकिएकाले स्वदेश फर्किएर उद्यम गर्न आर्थिक अभाव रहेको अधिकांशले बताए। ५० प्रतिशत आप्रवासी श्रमिकहरुले सीप-प्रशिक्षणको अभावका कारण स्वदेश फर्किएर उद्यम गर्न नसक्ने अवस्था रहेको बताए। व्यवसायिक संजाल (नेटवर्क)को अभाव, पर्याप्त जानकारीको अभाव, जटिल प्रशासनिक प्रक्रियाका कारण पनि स्वदेश फर्किएर व्यवसाय गर्न असहज हुने उनीहरुकाे भनाइ छ।
विदेशमा गरेको काम नेपालमा गर्दा ज्याला कम हुने र जीविकोपार्जन गर्न समेत असहज हुने हुँदा नेपालमा फर्किएर ज्यालादारी गर्छु भन्नेहरु भने भेटिएका छैनन्। अध्ययनका क्रममा कतिपय कामदारहरुले स्वदेश फर्कँदा महंगो हवाई भाडा गुणस्तरहीन क्वारेन्टाइनलगायतका कारणले तत्काल स्वदेश नफर्कने बताए।
कोरोना महामारीबीच विदेशमा काम गरिरहेका नेपाली श्रमिकहरुको जीवन र रोजगारीको अवस्था पनि नाजुक रहेको अध्ययनले देखाएको छ। ५८ प्रतिशत श्रमिकहरुले कार्यस्थल सुरक्षित नहुँदा कोरोना संक्रमणको भय रहेको बताएका छन्। १७ प्रतिशतले व्यक्तिगत जीवनशैलीका कारण कोरोना संक्रमण हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।