काठमााडौं– पछिल्ला दुई आर्थिक वर्षमा वैदेशिक रोजगारीमा १०० कामदार पठाउन नसक्ने म्यानपावर नवीकरण हुने भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले म्यानपावर नवीकरणमा देखिएको बाधा अड्काउ फुकाउने प्रस्ताव पारित गरेको हो।
वैदेशिक रोजगार ऐन २०६४ मा केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०७५ ले थप गरेको दफा १३ (२) ले पछिल्ला दुई आर्थिक वर्षमा वैदेशिक रोजगारीमा १०० कामदार पठाउन नसक्ने म्यानपावर स्वतः खारेजी हुने व्यवस्था गरेको छ।
सो व्यवस्थाअनुसार १०० कामदार पठाउन नसक्ने ५ सयभन्दा बढी म्यानपावरहरु खारेजी हुने अवस्थामा पुगेका थिए। करिब १७ महिना बन्द भएको मलेसिया रोजगारी तथा लकडाउनका कारण व्यवसाय ठप्प हुँदा आफूहरु मारमा परेको भन्दै व्यवसायीहरुले सरकारसँग सबै म्यानपावर नवीकरण गरिदिन माग राख्दै आएका थिए।
गत चैत १६ गते बसेको मन्त्रीपरिषद् बैठकले समेत वैदेशिक रोजगारीमा पछिल्ला दुई आर्थिक वर्षमा १०० कामदार पठाउन नसकेकै कारण म्यानपावरको इजाजत खारेज हुने व्यवस्था हटाउन वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।