गाजनी– अफगानिस्तानको पूर्वी गाजनी प्रान्तमा अफगानी सुरक्षाकर्मीले गरेको कारबाहीमा कम्तिमा १६ जनाको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुख मोहम्मद जमान खोस्तीले मङ्गलबार बताएका छन्।
उक्त घटनामा अन्य १३ जना घाइते भएका प्रहरीले जनाएको छ।
अधिकारीका अनुसार अलिखिल क्षेत्रमा गस्ती गरिरहेको प्रहरी समूहमाथि तालीवान विद्रोहीले धराप विष्फोट गराइ आक्रमण गरेपछि सुरू भएको दोहोरो भिडन्तमा विद्रोहीतर्फ ठूलो सङ्ख्यामा क्षति भएकोे छ। झडपपछि कतिपय घाइतेलाई विद्रोहीले बोकेर लगेको प्रहरीले जनाएको छ।
प्रहरी प्रमुख खोस्तीले घटनामा सेनातर्फ भएको क्षतिबारे केही बताएनन्।
गाजनीमा आश्रय स्थल बनाउँदै आएका तालिवान विद्रोहीले भने घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन।
अफगानिस्तानमा तालिवान विद्रोहीले सन् १९९६ देखि सन् २००१ सम्म सत्ता सम्हालेको थियो। तर अमेरिकी नेतृत्वमा तालिवानबाट सत्ता फिर्ता लिएपछि सन् २००१ पछि अहिलेसम्म भएका झडपमा हजारौँको सङ्ख्यामा अफगान नागरिकले ज्यान गुमाएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।