काठमाडौं– विभिन्न आर्थिक वर्षमा मन्त्रालय र अन्य सरकारी निकायको रकम खर्च गर्दा उक्त खर्च पुष्टि गर्न नसकेपछि महालेखा परीक्षकको कार्यालयले बेरुजु राख्ने गर्छ।
बेरुजु राख्दा उक्त कार्यमा जिम्मेवार पदमा रहेका उच्च पदस्थ व्यक्तिको पनि नाम महालेखाको अनुसूचिमा सार्वजनिक गर्ने गरिन्छ। यस वर्ष सार्वजनिक भएको महालेखाको ५५औं प्रतिवेदनमा महालेखा परीक्षक टंकमणि शर्माको आफ्नै नाममा पनि बेरुजु देखिएको छ।
प्रतिवेदनमा उच्च अदालतका मुख्य न्यायाधीशदेखि बहालवाला मुख्यसचिव, पूर्व मुख्यसचिव र सचिवहरुको नाम, बेरुजु र कार्यरत समय उल्लेख गरिएको छ।
सामान्य प्रशासन मन्त्रालयमा सचिवका रुपमा रहँदा २०७३ साउन १ देखि २०७३ भदौ १९ सम्मको रकम खर्चमा शर्माको नाममा अन्य २ सचिवसँगै बेरुजु देखिएको हो। शर्मासँगै सचिवहरु पूर्णचन्द्र भट्टराई र मोहनकृष्ण सापकोटाको नाममा बेरुजु रहेको महालेखाकै प्रतिवेदनमा उल्लेख छ।
यसबारे शर्माले आफूले अवकास पाउँदा सबै रकम फर्छ्यौट गरेर निस्किए पनि अन्य कर्मचारीले फर्छ्यौट नगरिदिँदा सबै सचिवहरुको नाम उल्लेख भएको बताएका छन्।
सामान्य प्रशासन मन्त्रालयमा रहँदा ८९ लाख ६४ हजार रुपैयाँ शर्मासँगै भट्टराई र सापकोटाको नाममा बेरुजु राखिएको छ।
प्रतिवेदनमा सर्वोच्च अदालत र न्याय परिषद्मा सचिव भएका हाल उच्च अदालतका मुख्य न्यायाधीश नकुल सुवेदी, उच्च अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको नाममा पनि बेरुजु देखिएको छ।
मुख्यसचिव लोकर्दशन रेग्मीको नाममा अर्थ र गृह मन्त्रालयमा रहँदाको बेरुजु देखिएको छ।
पूर्व मुख्यसचिव राजेन्द्रकिसोर क्षेत्रीको नाममा पनि बेरुजु रहेको महालेखाको प्रतिवेदनमा छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहँदा क्षेत्रीले बेरुजु फर्छ्यौट नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
बेरुजु रहेका पूर्वसचिवहरुमा शान्तराज सुवेदी,पूर्णचन्द्र भट्टराई, माधवप्रसाद रेग्मी, मधुप्रसाद रेग्मी, शारदाप्रसाद त्रिताल, रामकुमारप्रसाद आचार्य, शान्ताराज सुवेदी, कमलशाली घिमिरे, उदयचन्द्र ठाकुर र नारायण गोपाल मलेगु लगायतका छन्।
महालेखाको प्रतिवेदनमा ५० वाट क्रम संख्यामा विभिन्न मन्त्रालय र सचिवहरुको बेरुजु राखिएको छ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।