काठमाडौं– नेकपा एमाले वरिष्ठ नेत्री विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुनः दलीय राजनीतिमा आएको बताएकी छन्।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले यस्तो बताएकी हुन्।
भण्डारीको भनाइ उद्धृत गर्दै पार्टीकी सचिव पद्मा अर्यालले भण्डारीले दर्शमा लोकतन्त्र र संविधानप्रति खतरा मडराइरहेकाले पार्टीमा आबद्ध भएको तर्क गरेको बताइन्।
अर्यालका अनुसार भण्डारीले लोकतन्त्रको रक्षा लोकतन्त्र ल्याउने राजनीतिक दलहरूले नै गर्नुपर्ने भन्दै लोकतन्त्र प्राप्तिको आन्दोलनमा आफूले पनि धेरै योगदान गरेकाले पार्टीमा आबद्ध भएर लोकतन्त्रलाई अझै सुदृढ बनाउने चाहना रहेको बताएकी थिइन्।
अर्यालले भनिन्, ‘पार्टीकी वरिष्ठ नेत्री कमरेड विद्यादेवी भण्डारीले देशमा लोकतन्त्र र संविधानप्रति खतरा देखिरहेकाले आफू पार्टी जीवनमा फर्किएको बताउनुभयो। पार्टीमा आबद्ध भएर लोकतन्त्र र गणतन्त्रलाई अझै सुदृढ बनाउन सहयोग गर्नसक्छु भन्ने मनशायका साथ पार्टीको जीवनमा फर्किएको कुरा बताउनु भयो।’
बैठकमा पार्टीको केन्द्रीय कमिटीमा रिक्त रहेको स्थान, पार्टीको पोलिटब्युरो सदस्यहरूको मनोनयन र स्थायी समितिमा रिक्त भएको स्थानको मनोनयन सम्बन्धी बैठकका स्थायी कमिटीका सदस्यहरूले सुझाव दिएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।